नेपालमा थप ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु

नेपालमा थप ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको  जानकारी दिए । 

उनका अनुसार वीरगञ्जमा बुधबार छुट्टाछुट्टै अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारार्थ ७० वर्षीय र नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारार्थ ६८ वर्षीय वृद्धको मृत्यु भएको छ।

मेडिकल कलेजमा बिहान करिब ३ बजेको समयमा मृत्यु भएका ७० वर्षीय वृद्धको साँझ नारायणी अस्पतलाको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियाे।

चिकित्सकका अनुसार वीरगञ्ज महानगरपालिका ६ माइस्थान निवासी ती वृद्ध मिर्गौला र दमका बिरामी थिए। उनको छातीमा पानीसमेत जमेको थियो।

यसैगरी गण्डक अस्पतालको आइसोलेसनमा उपचाररत ६८ वर्षीय पुरुषको बुधबार बिहान पौने ११ बजेतिर मृत्यु भएको थियाे।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका ५ रेशकोठी निवासी हुन्। 

उनकाे मुटुमा समस्या देखिएपछि उनी पछिल्लो ६ दिनदेखि गण्डकको आइसोलेसनमा उपचाररत थिए।

उनका अनुसार वीरगञ्जको एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्‍वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो।

कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको थियो।

उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ। 

पर्सामा विगत एक साता यता एक भारतीय नागरिकसहित ८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

यता मोरङको सुनवसी ८ का ४५ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ। निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो।

अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।

अस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो। 

प्रकाशित मिति: : 2020-07-30 16:52:23

प्रतिकृया दिनुहोस्