स्वर्गको अनुभूति बडीमालिका, साउन १८ गते मेला

कैलाली-हेर्दा टोपी खस्ने भीर छ। त्यही भीरमा भारी बोकेर उकालो लाग्दै गरेका मान्छेहरुको लस्कर रहरलाग्दो देखिन्छ। सिमसिमे झरी होस् या मुसलधारे पानी! त्यसैमा कठ्याग्रिदो जाडो, केही प्रवाह छैन त्यहाँ पुगेकाहरुलाई। एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्कोतिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध गरेपछि त्यस्ता झरी र वर्षाले के कुँड्याउथ्यो र मन! धार्मिक आस्था र प्राकृतिक सुन्दरताको बयान गरी नसक्नु छ बडीमालिकाको। बडीमालिका जानेहरुको लस्करले यति खेर मालिका पुग्ने पहाडका बाटोहरु रङ्गी विरङ्गी देखिएका छन्।

समुद्रीसतहबाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका बडीमालिका पुग्न सात दिनको पैदल यात्रामा हजारौ भक्तालुहरु यात्रामा निस्किएका छन्। झरी होस् कि जाडो तीर्थालुहरु मौसमको खासै परवाह गर्दैन्। तर,माथि पुगिसकेपछि यात्राका सवै कष्ट भुलिने बताउँछन्। प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने बडीमालिका मेलालाई यो वर्ष भव्य र व्यवस्थित बनाइने भएको छ। साउन १८ गतेका दिन बडीमालिका माईको पुजा रहेको छ।

प्रकाशित मिति: : 2020-07-30 13:23:41

प्रतिकृया दिनुहोस्