भारतमा कोरोनाबाट मर्नेहरुको तथ्यांक राख्न छाडियाे, दावी गरेभन्दा बढी संक्रमित भएकाे आशंका

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ।

जोन हप्किन्स युनिभर्सिटीको बिहीबार बिहान ५ बजेसम्मको तथ्यांकअनुसार भारतमा संक्रमितहरुको संख्या १५ लाख ३१ हजार ६ सय ६९ पुगेको छ।

गएको २४ घण्टामा मात्रै भारतमा ५२ हजार २ सय ४९ जना नयाँ संक्रमित थपिएका छन्। भारतमा गत १२ दिनअघि मात्रै संक्रमितको संख्या १० लाख नाघेको थियो। 

भारतमा काेराेनाकै कारण मृत्यु हुनेहरुको संख्या ३४ हजार १ सय ९३ छ। बुधबार मात्रै भारतमा ७ सय ६८ जनाको निधन भएको छ। यो भनेको अमेरिका र ब्राजिलपछिको सबैभन्दा बढी संख्या हो।

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ रहेकाे जोन्स हप्किन्स विश्वविद्यालयले जनाएकाे छ।

 यसैगरी अमेरिकामा ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउने संख्या ९० हजार पार भएको छ। हालसम्म ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ। 

ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ।

त्यसो त भारतमा संक्रमितको तुलनामा निधन हुनेहरुको सरकारी तथ्यांक भने निक्कै कम छ। जनसंख्याको अनुपातमा भारतमा संक्रमितको संख्या कम छ। अमेरिकामा प्रति १० लाख मानिसमा संक्रमित हुनेहरुको संख्या १३ हजार १४८ छ भने भारतमा ११ सय १० मात्रै छ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयको वेभसाइटमा यतिखेर जम्मा संक्रमितको संख्या उल्लेख गर्न छाडिएको छ र निको हुनेहरुको संख्या राख्न थालेकाे छ।

संसारकै सबैभन्दा भीडभाडयुक्त शहरहरु भएका तथा जनस्वास्थ्यमा प्रतिव्यक्तिको हिसाबले विश्वमै सबैभन्दा कम खर्च गर्ने दक्षिण एशियामा अवस्थित भारतले अहिले पर्याप्त मात्राका काेराेना परीक्षण गरिरहेको छैन। साथसाथै, कोरोनाका कारण मर्नेहरुको तथ्यांक पनि रेकर्ड गरिएका छैनन्।

मुम्बई शहरमा गरिएको परीक्षणको नतिजाले संसारकै दोस्रो सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारतको कोरोना संक्रमणसम्बन्धी सरकारी तथ्यांकमा शंका पैदा गराएकाे छ। 

गत मंगलबारमात्रै प्रकाशित एक अध्ययनमा कोरानाभाइरस एन्डिबडीको परीक्षणको रिपोर्टले मुम्बईका घना जनसंख्यावाला झुपडपट्टीका ५७ प्रतिशत मानिसहरुमा कोरोनाको संक्रमण भइसकेको देखाएको थियो। यो भनेको सरकारी तथ्यांकहरुमा देखाएका भन्दा धेरै बढी हो।

उक्त अध्ययन कार्यमा संलग्न टाटा इन्स्टिच्यूट अफ फन्डामेन्टल रिसर्चका उल्लास एस कोल्थुरले उक्त नतिजाले आफू तीनछक्क परेको बताएका छन्। ‘ झुपडपट्टी इलाकाहरुमा, यति धेरै संक्रमण देखिनुको कारण त्यहाँ घना आवादी भएका कारण सामाजिक दूरीले काम गर्दैन,’ उनले भनेका छन्।

गत हप्ता नयाँ दिल्लीका एक चौथाई मानिसहरु विगतमा कोरोना भाइरस संक्रमित भइसकेको देखाएको थियो। यो भनेको त्यहाँको सरकारले दावी गरेकाेभन्दा झन्डै ४० गुना बेसी हो।

त्यसबाहेक, मुम्बईमा गरिएको सर्वेक्षणमा तुलनात्मक रुपमा ७ हजार मानिसको नमूना समुहमा परीक्षण गरिएको थियो। यो भनेको त्यहाँको जनसंख्याको तुलनामा निक्कै कम हो।

भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ र थुप्रै क्षेत्रहरुमा लकडाउन लागू गरिएको छ, तर यसै हप्ता मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरु देशहरुको तुलनामा भारत राम्रो अवस्थामा रहेको र अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरिरहेको बताएका थिए।

उसाे त भारत सरकारले कोरोना संक्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ।

अब सरकारले संक्रमित धेरै भएका क्षेत्रमा भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर संक्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको छ।

भारतमा रात्रीकालीन कर्फ्यू हटाउने निर्णय भएको छ। यस्तै जीम र योग संस्था खोल्ने छ। 

तर अझै पनि ठूलो संख्यामा जमघट हुने शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत क्षेत्र अगष्ट ३१ तारिखसम्मै बन्द हुनेछन्। 

यता राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह भने अगष्ट ३१ सम्म गर्न पाइने छैन। 

गृह मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: : 2020-07-30 08:42:33

प्रतिकृया दिनुहोस्