काठमाडौंमा १५ सहित पछिल्लो २४ घण्टामा थपिए २१० कोरोना संक्रमित

काठमाडौं उपत्यकामा १५ सहित नेपालमा थप २ सय १० जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी बुधबार उक्त संख्यामा संक्रमित थपिएको बताएको हो।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार रौतहट र कैलालीमा ५ सय बढी संक्रमित रहेका छन्।

हालसम्म सक्रिय संक्रमित ५ हजार २ सय ३ जना रहेको उनले बताए। ३ लाख ५८ हजार ३ सय ४४ जनाको हालसम्म पीसीआर परीक्षण भएको गौतमले जानकारी दिए।

हालसम्म १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १४६ जना निको भएसँगै अहिलेसम्म १४,०२१ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,२०३ व्यक्ति देशभरि आइसोलेशनमा छन्।

काठमाडौं उपत्यकामा ४८९ सङ्क्रमित

काठमाडौं उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या ४८९ जना पुगेको छ।

बुधबार उपत्यकाका तीन जिल्लामा १५ जना र मङ्गलबार ५३ जना नयाँ सङ्क्रमित देखिएका थिए।

यसरी सङ्क्रमित हुनेहरूमा काठमाडौंमा दुई भारतीय र एक चिनियाँ नागरिकसहित ३४९ जना, ललितपुरमा ८९ जना र भक्तपुरमा ५१ जना छन्।

सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ। मङ्गलवारसम्म १६३ जना सङ्क्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ।

सरकारले पछिल्ला दिनमा उपत्यकामा परीक्षण बढाएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको बताइएको छ।

अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

प्रकाशित मिति: : 2020-07-29 16:33:53

प्रतिकृया दिनुहोस्