पर्सामा पुन: २ चिकित्सकसहित १५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा सोमबार राति गरिएको पीसीआर परीक्षण थप १५ जनामा संक्रमण पुष्टि भएकाे हाे।
नयाँ संक्रमितहरुमा प्रहरी कार्यालयको थुनुवामा रहेका १, २ जना वीरगञ्जका चिकित्सक, १ हेल्थ असिस्टेन्ट, ३ जगदम्बा प्रा.ली.का मजदुर, १ भारतबाट आएर ठोरीको क्वारेन्टइनमा बसेका र ७ जना निजी खर्चमा परीक्षण गर्नेहरुमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताए ।
संक्रमितहरुलाई नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा राख्ने स्थान नहुँदा अहिले चिकित्सकको निगरानीमा होम आइशोलेशनमा बस्न आग्रह गरिएको छ ।
वीरगञ्जमा लगातार कोरोना संक्रमित हरुको संख्या बढ्दै गएपछि उपचारका लागि समस्या भएको छ ।
गण्डक अस्पतालमा ५७ बेडको आइशोलेशन भरिएको छ भने संक्रमित राख्ने स्थानको अभावमा यसअघि ४२ जना होम आइशोलेशनमा नै रहेका छन्। यता थप १५ जना गरी ५७ जना अस्पताल बाहिर होम आइशोलेशनमा राखिएको छ भने सेमि आइशोलेशनका लागि पुनः सिद्धार्थ माबिमा आवश्यक तयारी भइरहेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका भारतीयको शव व्यबस्थापन
आइतबार विहान कोरोना संक्रमणका कारण मृत्यु भएका वीरगञ्ज आदर्शनगरका व्यवसायी एवं भारतीय नागरिक ६५ वर्षीय श्याम सुन्दर बगरीयाको शव २ दिनपछि व्यबस्थापन भएको छ ।
वीरगञ्ज महानगरपालिका ३१ भेडाहा खोलाका आसपासका स्थानिय वासिन्दाहरु प्रदर्शनमा उत्रिएको कारण २ दिन देखि शव व्यबस्थापन हुन सकेकाे थिएन।
गएराति स्थानिय प्रहरी प्रशासनको सक्रियतामा वीरगञ्ज महानगरपालिका २५ मा रहेको तिलाबे खोला किनारमा शव व्यबस्थापन गरिएको छ ।