घामको घमन्जा

‘हिट-स्ट्रोक’ले कसरी ज्यान लिइरहेको छ?

मिनु गोले

काठमाडौं
Break n Links
Break n Links

कैलालीको मसुरियाबाट हसुलिया जान बसमा चढेका इन्द्रबहादुर राना बिहीबार दिउँसोतिर बसको सिटमै मृत भेटिए। चिकित्सकीय परीक्षणपछि प्रहरीले २१ वर्षीय रानाको मृत्यु गर्मीको कारण हुने ‘ह्रृदयघात’बाट भएको बतायो।

बुधबार कैलालीको तापक्रम ४४.२ डिग्री सेल्सियससम्म पुगेको छ। शुक्रबार पनि त्यहाँको तापक्रम त्यसकै वरिपरी नै छ। पश्चिम तराईको भूमिमा पर्ने यो ठाउँ देशकै धेरै गर्मी हुने ठाउँ पनि हो। यो तापक्रम भनेको अहिलेसम्मकै नयाँ रेकर्ड हो। त्यसकै समभूमिमा रहेको अलि वर नेपालगञ्ज सहर वरिपरीको हावा पनि उत्तिकै तातो छ। शुक्रबार नेपालगञ्ज क्षेत्रको तापक्रम ४४.२ पुगेको छ।

यी मात्रै होइनन्, पूर्वदेखि पश्चिम तराईका हरेक भू-भागमा अहिले उत्तिकै तातो हावा बगिरहेको छ। हावा नचलेपनि हपहपी गर्मीले मानिसको ज्यानै खाइरहेको छ। तराईका सबैजसो जिल्लाहरूमा अहिले तापक्रम ३० देखि ४४ डिग्रीभन्दा माथि पुगिसकेको छ। मौसम पूर्वानुमान महाशाखाले केही दिन तापक्रम यत्तिकै रहने भन्दै स्वास्थ्य सावधानीका लागि चेतावनी दिएको छ।

गर्मीले हपहपी भइरहेको सडकहरू अहिले आगोको ज्वालाजस्तै लाग्छन्। बिहान ११ बजेदेखि साँझको ५/६ बजेसम्म सडकमा हिँड्नै नसकिने तातो हुन्छ। तातो हावाले उत्तिकै हिर्काउँछ। यहाँका बजारहरू पनि प्राय दिनभरि बन्द अवस्थामै देखिन्छन्। विद्यालयहरू साता दिनदेखि छुट्टीमा छन्।

तराई-मधेसका धेरै विद्यालयहरूमा एक साताजतिको छुट्टी दिइएको छ। गर्मी घट्दै नघटेपछि कतै कतै त्यो विदालाई लम्ब्याइएको छ।

सिमाना जोडिएका भारतका कतिपय गाउँसहरमा पनि गर्मी अचाक्ली छ। उसै पनि भारतीय भूमिमा गर्मी नेपालभन्दा अझ धेरै हुन्छ। भारतको राजधानी नयाँ दिल्लीलगायत कतिपय सहरहरूमा तापक्रम ५२ डिग्री नाघिसकेका रेकर्डहरू छन्।

प्रचण्ड गर्मीका कारण भारतमा त धेरैमा मानिसको मृत्यु भइसकेको छ। तीमध्ये धेरै विशुद्ध गर्मीकै कारण ‘हिट स्ट्रोक’ भएको चिकित्सकहरूले बताएका छन्। नेपालमा पनि त्यसको प्रभाव छ। तराई मधेसका धेरै अस्पतालहरू गर्मीले थलिएका बिरामीहरूले भरिएका छन्।

के हो हिट स्ट्रोक, कसरी हुन्छ?

चर्को गर्मीले सेकिइरहेको छिमेकी भारतमा ५० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। त्यसको एउटा मुख्य कारण चर्को गर्मीले निम्त्याएको ‘हिट स्ट्रोक’ भएको चिकित्सकहरूले बताएका छन्।

भारतको राजधानी दिल्लीका विभिन्न ठाउँहरूमा तापक्रम ५३ डिग्रीभन्दा माथि पुगिसकेको छ। ओडिसा, दिल्ली, राजस्थानलगायतका राज्यहरूमा तापमान निकै माथि पुगिसकेको छ। गर्मीका कारण भारतका धेरै राज्यहरूमा हजारौँ मानिस अस्पतालमा भर्ना भएका छन्।

सामान्यतया मानिसको शरीरले ३७.५ डिग्री सेल्सियससम्मको तापक्रमलाई सन्तुलनमा राख्नसक्छ। तर बाहिरी वातावरणमा तापक्रम बढ्दै जाँदा त्यसले शरीरको तापमान पनि बिगार्नसक्छ। जसले गर्दा मानिसको शरीर बेस्सरी तात्तिनसक्छ।

जब मानिसको शरीरको तापक्रम ४० डिग्री सेल्सियस अर्थात् करिब १०४ डिग्री फरेनहाइटसम्म पुग्छ, त्यसपछि शरीरका कतिपय अंगहरू र त्यसको सञ्चालन प्रणालीले सन्तुलन गुमाउँछन्। त्यस्तो अवस्थामा मानिसलाई ‘हिट स्ट्रोक’ हुन्छ।

नेपालको खासगरी तराई क्षेत्रमा वा अत्यधिक गर्मी हुने मध्यपहाडका क्षेत्रमा अहिले देखिएका बिरामी त्यही ‘हिट स्ट्रोक’का लक्षणबाहक हुन्। तातो हावा अर्थात् हामीले त्यसलाई ‘लु’ लागेको भन्छौँ।

अत्यधिक गर्मीका कारण रक्तसञ्चार प्रक्रिया अवरुद्ध हुनसक्छ। अनि रक्ता अति नै न्यून पनि हुनसक्छ। यो स्थितिमा मस्तिष्कमा रक्तसञ्चार रोकिन जान्छ। यसका कारण मस्तिष्क सुन्निनसक्छ। जसबाट ब्रेन ह्याम्ब्रेज पनि बढ्नसक्छ।

गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुन्छ। जसलाई ‘डिहाइड्रेड’ भनिन्छ। त्यसले शरीरको रगतलाई बाक्लो बनाइदिन्छ। अनि त्यसको प्रसारमा अवरोध हुन्छ। हिट स्ट्रोक एक गम्भीर चिकित्सकीय अवस्था हो। जसमा शरीरको तापक्रम निकै बढ्नसक्छ। यसबाट हाम्रो शरीरमा रहेका तापक्रम नियन्त्रण प्राणलीहरू काम गर्न नसक्ने अवस्थामा पुग्छन्।

हिट स्ट्रोक दुई प्रकारका हुन्छन्। एक हाे- बाहिरी स्ट्रोक। यो भनेको हामीले गर्मीको समयमा वा चर्को घाम लागेका बेला शारीरिक श्रम गर्दा उत्पन्न हुन्छ। अर्को भनेको धेरैजसो वृद्धवृद्धाहरूलाई हुन्छ, जसले कुनै पनि मौसम वा त्यसको स्थितिलाई तत्कालै अपनाउन सक्दैनन्। अर्थात् तापक्रमको एउटा अवस्थाबाट तुरन्तै अर्को स्थितिमा जाँदा उनीहरूलाई स्ट्रोक हुनसक्छ।

हिट स्ट्रोक हुँदा त्यसले मुख्यतया: रक्तसञ्चारमा बाधा पुर्‍याउँछ र मस्तिष्कमा सञ्चार हुन पाएन भने त्यसमा मस्तिष्कघात पनि गराउनसक्छ। यसको तत्काल उपचार नपाएमा बिरामीको मृत्यु हुने खतरासमेत बढ्न जान्छ।

‘यो गर्मी बढ्दै जाँदा शरीरका संवेदनशील अंगमा हुने अट्याक हो। त्यसका लागि हामीले पहिलादेखि नै सावधानी अपनाउनुपर्छ’, जनरल फिजिसियन डा. नारायणबहादुर बस्नेत भन्छन्, ‘सानो लापरवाहीले पनि बिरामीको ज्यान जानसक्छ।’

चर्को घामबाट शरीरलाई जोगाउनु नै ‘हिट स्ट्रोक’बाट बच्ने एउटा मुख्य उपाय हो। त्योसँगै शरीरलाई सुख्खा हुन नदिने अर्थात् हाइड्रेसनका लागि प्रशस्त पानी पिउनुपर्छ। 

प्रकाशित मिति: : 2024-06-11 08:14:00

प्रतिकृया दिनुहोस्