पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा पुन:कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार गरेको परीक्षणमा अस्पतालमा कार्यरत ३० वर्षीय नर्सलाई कोरोना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।
उनका बुबा कोरोनाबाटै मृत्यु हुने गण्डकी प्रदेशका पहिलो संक्रमित हुन्। स्याङ्जाका ६० वर्षीय ती पुरुषको जेठको तेस्रो हप्ता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको थियो।
संक्रमण पुष्टि भएकी ती नर्स भने करिब ढेड महिनादेखि बिदामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिइन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले भनिन्, ‘उहाँको बुबा बिरामी हुनुहुन्थ्यो। बुवाको उपचारकै लागि बिदा लिएपछि काममा फर्किनुभएको छैन। उहाँमा बुबाबाटै कोरोना संक्रमण सरेको हुनसक्छ।’
उनका अनुसार पोखरामा उपचारका क्रममा मृत्यु भएपछि ती पुरुषको कन्ट्याक ट्रेसिङमा मृतकी श्रीमती र छोरीलाई पनि त्यतिबेलै कोरोना संक्रमण पुष्टि भएको थियो।
पोखरा १० मा आमासँगै बस्दै आएकी ३० वर्षीय ती नर्सलाई पुनः कोरोना पुष्टि भएको हो।