नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वीरगञ्ज, धनुषा र बारामा एक/एक जनाकाे मृत्यु भएकाे हाे।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका बस्ने ६५ वर्षीय भारतीय नागरिक छ्न्। कोरोना संक्रमणका कारण साउन ११ गते गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनी मुटु तथा मधुमेहका रोगी थिए।
मृतकको कोरोना संक्रमण पुष्टि भएसँगै शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएकाे छ।
यता धनुषा सहिद नगरपालिका ८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको मृत्यु भएको छ। ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ उनी साउन १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए।
उनलाई थप उपचार का लागि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा साउन ११ गते बाटैमा मृत्यु भएको थियो।
प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिए। शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ। धनुषामा कोरोना संक्रमणबाट मृत्युको यो पहिलो घटना हो।
यता बारा जिल्ला फेटा गाउँपालिकाका ६० वर्षीय पुरुषमाे मृत्यु भएकाे छ। उनको त्रिवि शिक्षण अस्प्तालमा उपचारका क्रममा साउन १२ गते मृत्यु भएको हो। उनी मिर्गौला, मष्तिष्कघात तथा निमोनियाबाट ग्रस्त थिए।