विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
यसअघि मंगलबार सोही नर्सिङ होमका सञ्चालकसमेत रहेका चिकित्सकमा संक्रमण देखिएको थियो।
अस्पतालका सञ्चालक एवं चिकित्सकमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट टे्रसिङ्गका आधारमा गरिएको स्वाब परीक्षणमा चारजना नर्समा काेराेना संक्रमण देखिएकाे महानगरका फोकल पर्सन हैदर अलीले जानकारी दिए।
संक्रमित मध्ये एक जना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समेत हुन्।
कोसी अस्पतालमा कार्यरत एक चिकित्सकमा समेत संक्रमण पुष्टि भएको छ।
तिनैमध्येकी एक नर्सको कन्ट्याक्ट ट्रेसिङका आधारमा कोसीका चिकित्सक तथा स्वास्थ्यकर्मीको पनि स्वाब संकलन भइरहेको अलीले बताए।
लाइफगार्डका १४, न्युरोका २८ र लीली चिल्ड्रेन अस्पतालका २१ जना र संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरी सोमबार ९० जनाको स्वाब संकलन गरिएको उनले जानकारी दिए।