कानुन समितिको निर्देशन : हात्ती लगाएर घरबार नउठाउनू, यस्तो कार्य मानवताविरोधी अपराध

चितवनको कुसुमखोलामा यही ३ साउनमा हात्ती लगाएर घर भत्काउने, आगजनी गर्ने कार्य मानवताविरोधी अपराध भएको भन्दै संसद्को कानुन समितिले वन मन्त्रालयलाई घरबार नउठाउन निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले घर भत्काउने कार्यलाई गैरसंवैधानिकसमेत भनेको छ । 

समितिकाे निर्देशनमा भनिएको छ, ‘हात्ती लगाएर घर भत्काउने कार्य गैरसंवैधानिक एवं गैरकानुनी कार्य हो । संविधानले प्रदान गरेको बाँच्न पाउने हक र वासस्थानको हकविपरीत गई विपतको समयमा वैकल्पिक व्यवस्था नगरी घरवास नउठाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन गर्दछ ।’

चेपाङ बस्तीमा होइन, मकै हेर्न बनाइएको मचानमा आगो लगाइएको हो : वनमन्त्री बस्नेत

वनमन्त्री शक्ति बस्नेतले चितवनको कुसुमखोलामा चेपाङ बस्तीमा नभई मकै हेर्न बनाइएको मचानमा आगो लगाइएको बताएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार बसेको बैठकमा मन्त्री बस्नेतले बस्तीमा आगो नलगाइएको दाबी गरेका हुन् । 

‘त्यहाँ ११ घर मात्रै थिए । स्थानान्तरण भएकामध्ये कतिपयले मोटरसाइकलमा गएर दिनभर मचानमा बसेर मकै हेर्ने गरेको पाइयो । निकुञ्जले त्यसमै आगो लगाएको हो । मचानमा आगो लगाउनुका साथै गोठ भत्काइयो,’ उनले भने।

मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव नेतृत्वको टोली पठाएको पनि उनले समितिलाई जानकारी दिए। सहसचिवको नेतृत्वमा गएको टोलीको प्रारम्भिक विवरणअनुसार मचानमा मात्र आगो लगाएको उनले समितिलाई बताएका थिए । आगलागी भन्दै सार्वजनिक भएको फोटो कुसुमखोलाको नभएकोसमेत बस्नेतले दाबी गरे।

कानून, न्याय तथा मानव अधिकार समितिको मिति २०७७ साउन ११ गते बसेको समितिको बैठकको निर्णय

प्रकाशित मिति: : 2020-07-26 18:40:24

प्रतिकृया दिनुहोस्