निर्वाचन विशेष

मतदाताको मन जितेको मान्छे हुँ चुनाव जित्न केही गाह्रो छैन : अमृत खड्का (अन्तर्वार्ता)

ममता आचार्य

काठमाडौं
BreaknLinks
BreaknLinks

नेकपा (एमाले)को तर्फबाट ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्, अमृत खड्का।

एमाले बागमती प्रदेश कमिटी सदस्य, नेपाल हस्तकला महासंघका उपाध्यक्ष, निर्यात व्यवसायी महासंघका महासचिवसमेत रहेका खड्काले यस क्षेत्रहरुमा धेरै उदाहरणीय कामहरु गरेका छन्।

ललितपुरका युवा पुस्तालाई विदेश जानबाट रोक्ने एजेण्डा बाेकेर चुनावी मैदानमा उत्रिएका अमृत खड्कासँग बिएल नेपाली सेवाका लागि ममता आचार्यले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :


तपाईंकाे चुनावी माहाेल कस्ताे हुँदैछ ?

अहिले हामी घरदैलो अभियानमै लागिरहेका छौँ, हामीलगायत कार्यकर्ता र स्थानीयहरुमा हाम्रो अभियानले उत्साह छाइरहेको छ।

तपाईं त व्यवसायमा लागेकाे मानिस, एमालेले कसरी टिकट दियाे ?

समाजसेवा र व्यवसाय क्षेत्रमा रहे पनि म १५ वर्षको उमेरदेखि राजनीति गर्दै हिँडेको मान्छे हुँ। २०५४ मा म एमालेबाट ललितपुरकाे सैव गा.वि.स.काे नेपालकै कान्छो अध्यक्षसमेत भएको थिएँ। मैले व्यवसाय, समाजसेवा र राजनीति सबै क्षेत्रमा गरेका काम र निरन्तरताका कारण मैले एमालेबाट टिकट पाएको हुँ।

तपाईंका चुनावी एजेण्डाहरु के-के छन् ?

रोजगारीको सिर्जना, हस्तकलाको विकास, संस्कृतिको सम्वर्धन र प्रवर्द्धन, ललितपुरको वातावरण प्रदुषण नियन्त्रण, सरसफाइ, खानेपानीकाे व्यवस्था गर्ने र युवा पुस्तालाई विदेश जानबाट रोक्ने मेरा एजेण्डाहरु हुन्। मेरा एजेण्डाप्रति ललितपुरवासीहरू निकै उत्साहित र आशावादी हुनुहुन्छ। भोलिका दिनमा म यसलाई पूरा गर्ने छु।

तपाईं र उर्जा मन्त्री पम्फा भुसालको कडा प्रतिस्पर्धा देखिन्छ, जित्ने कुरामा कत्तिकाे ढुक्क हुनुहुन्छ ?

ललितपुरका मतदाताले कुनै व्यक्तिको पार्टी र पद हेर्नुभएको छैन। उहाँहरुले ललितपुरलाई विकास गर्ने राम्रो व्यक्ति चयन गर्नुहुनेछ। जसमा मेरो जित हुने सुनिश्चित छ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

हामीले देश, समाज र यस क्षेत्रका लागि खोजिरहेको उम्मेदवार पाएका छौँ भन्नु भएकाे छ। हाम्रो मत पनि तपाईंलाई नै हुनेछ भन्नुहुन्छ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

यो निर्वाचन पहिलेको तुलनामा अत्यन्त दीर्घकालिन महत्त्व राख्ने निर्वाचन हो। यसमा राष्ट्र र राष्ट्रियताको सवाल जोडिएको छ। परम्परागत शैली, भ्रष्टाचार र ढिलासुस्तिलाई निर्मुल गर्नलाई नयाँ ढङ्ग र शैलीले परिवर्तन गर्न अत्यावश्यक छ। त्यो हामी निर्वाचनमार्फत् गर्नेछौँ।

प्रकाशित मिति: : 2022-11-10 15:15:00

प्रतिकृया दिनुहोस्