पर्यटन क्षेत्रलाई मौद्रिक नीति २०७७/०७८ मा भएको ब्यवस्थाका बारेमा अन्तरक्रिया

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको संयोजनमा २०७७ असार ६ गते हालसालै जारी भएको मौद्रिक नीतिको पर्यटन क्षेत्रमा प्रभावकारी कार्यान्वयनका लागि सञ्चालन कार्यविधिका लागि सरोकारवालासँगको अन्तरक्रिया भएको छ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड १९ बाट अघि बढ्न पर्यटन क्षेत्रमा नेपाल सरकार, पर्यटन व्यवसायी र मजदुरहरूको सहकार्य आवश्यक भएको बताए। मन्त्री भट्टराईले होटेल र आन्तरिक विमानसेवाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रोटोकल र सावधानीका उपाय अपनाई आफ्नो सेवा प्रदान गर्नेछन्। मन्त्री भट्टराईले नेपाल सरकारद्वारा जारी पर्यटन क्षेत्र संचालन कार्यविधि र डब्ल्यूएचओद्वारा तोकिएको स्वास्थ्य दिशानिर्देशिकाको कडाईका साथ पालना गर्नुपर्नेमा जोड दिए।

त्यस्तै नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बैंक र वित्तीय संस्थाको लगानीको प्राथमिकता ठूला पूर्वाधार र पर्यटन उद्योगको विकासमा हुनुपर्ने बताए। उनले पर्यटन उद्योगको पुनर्जीवन र अस्तित्वको एक मात्र उद्देश्यका साथ रोजगारी सिर्जना हुनेछ र मजदुरको रोजगारी कायम हुनेछ भन्ने आशा राखेर नै सहुलियत ऋणको व्यवस्था गरिएको बताए।

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सरकार चरणबद्ध आधारमा पर्यटन क्षेत्रको पुनरुत्थानमा केन्द्रित रहेको बताए। उनले स्थानीय स्तरमा पर्यटन सम्पदाहरुको ब्राण्डिङका साथ आन्तरिक पर्यटनको प्रबद्र्धन गर्नुपर्ने बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले उक्त अवसरमा कोभिड १९ ले पर्यटन क्षेत्र, लगानी, रोजगारीमा पारेको प्रभावका बारेमा प्रस्तुतिकरण गर्दै बोर्डले नेपाल सरकार र पर्यटन सरोकारवालाहरुसँगको सहकार्यमा वर्तमान समयमा पर्यटन उद्योगले भोग्नु परेको संकट र नोक्सानीलाई सम्बोधनका लागि गरिएको आग्रह मौद्रिक नीतिमा समेटिएको बताए।

यसैगरी होटल एसोसिएसन नेपाल, ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल, र नेपाल पर्वतारोहण संघ, टुरिस्ट गाईड एसोसिएसन अफ नेपालका प्रमुख तथा प्रतिनिधिहरूले मौद्रिक नीतिमा भएको पर्यटन क्षेत्रलाई भएको ब्यवस्थालाई सञ्चालन कार्यविधि बनाउने प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन आग्रह गरे ।

प्रकाशित मिति: : 2020-07-22 16:02:23

प्रतिकृया दिनुहोस्