पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्ने भएको छ।
पञ्चेश्वरमा गत असार १६ गते सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएको थियो। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको थियो।
बिओपीमा रुपान्तरण गरिए पनि सशस्त्रको टोली अहिले पनि पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाकै भवनमा बसिरहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए।
भवन निर्माणका लागि ३२ दिने सूचना प्रकाशित गरिएको बताउदैं उनले भने, 'भवन निर्माणका लागि बोलपत्र हुने र त्यसपश्चात् भवन निर्माणको काम अगाडि बढ्ने छ।'
भवन निर्माणको लागि पञ्चेश्वर गाउँपालिकाले सशस्त्रको नाममा यसअघि १५ रोपनी जग्गा सिफारिस गरिसकेको थियो। सोही जग्गामा सशस्त्रको भवन बन्ने भएको हो। आफ्नै भवन बनेपछि सशस्त्रलाई बस्न र सीमा सुरक्षाका लागि सहज हुने उनको भनाइ छ।
यस्तै जग्गा उपलब्ध नहुँदा सदरमुकाम गढीमा रहेको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटरलाई भने समस्या भएको छ। उक्त गुल्म हाल सहकारी डिभिजन कार्यालयको भवनमा बसिरहेको र त्यहाँ ठाउँ साँघुरो भएकाले समस्या भएको हो।
दशरथचन्द नगरपालिकालाई जग्गाका लागि अनुरोध गरिएको भए पनि हालसम्म पनि उपलब्ध हुन नसकेको हो। यसका साथै जग्गा प्राप्त नहुँदा गत जेठ १० गते झुलाघाटमा स्थापना भएको बिओपी पनि भाडाकै भवनमा बसिरहेको छ।