जातीय विभेद

छुवाछुत उन्मुलन दिवसकै कार्यक्रममा उपमेयरले ‘ठकुरीकी छोरी हुँ, दलितले छोएको खान्नँ’ भनेपछि...

फाइल तस्विर
फाइल तस्विर

नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा यही जेठ २१ गते आइतबार बैतडीको दशरथचन्द नगरपालिकामा अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। नगरपालिकाको आयोजनामा भइरहेको कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरुसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (डिएपी), दलित अधिकारकर्मी, मानव अधिकारकर्मीलगायतको सहयभागीता थियो। अन्तरक्रिया चलिरहेका बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद भइरहेको छ, यसरी त कहिले हुन्छ र छुवाछुत अन्त्य ?’

दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न उठाएका थिएनन्, सम्रग नगरपालिकाको अवस्था र आफ्नो पीडा सुनाइरहेको थिए। तर, दयालको त्यो प्रश्नले उपमेयर कौशिला चन्दको छोयो। उनले कुर्सीबाट उठेर आक्रोश पोखिन्। उनले भनिन्, ‘म ठकुरीकी छोरी हुँ, मैले बाहिर पानीसमेत पिउन्नँ। मेरो इच्छा हो अरुले छोएको खाऊ या नखाऊ।’

देश छुवाछुतमुक्त भएको दिनको सम्झनामा खुसीयाली मनाइरहेका बेला जनप्रतिनिधिबाट अर्काे जातीय विभेद भएको महसुस गरेका त्यहाँ सहभागी दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र उपमेयरको पक्षबीच भनाभन भयो। प्रजिअ र प्रहरी प्रमुख सहभागी कार्यक्रमलाई विवादिन बनाउन नहुने भन्दै घटनालाई थप चर्किन दिइएन। बरु त्यसको करिब एक सातापछि बसेको कार्यपालिका समितिको बैठकमा उक्त विषय उठान् गरियो। त्यहाँ पनि उपमेयर चन्द आक्रमक शैलीमा प्रस्तुत भएपछि प्रेम दयाललगायत दलित अधिकारकर्मीको टोली मंगलबार जिल्ला प्रशासन कार्यालय पुग्यो। त्यहाँ प्रजिअ, प्रहरी प्रमुख, दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र सामाजिक अभियान्तहरुबीच छलफल भयो। छलफलपछि प्रजिअ सुरेश पन्थीलाई आज (बुधबार) उपमेयरलाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाउने तयारी गरे पनि सम्भव भएन। भोलि बिहान प्रजिअलाई ज्ञापनपत्र बुझाउने दलित अधिकारकर्मीहरुको तयारी रहेको छ।

०००

‘जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाइरहेकै दिन हामीमाथि उपमेयरले विभेद गर्नुभयो। मेरो प्रश्नमा उहाँ त्रसित हुनु भयो। जातीय विभेदलाई प्रोत्साहन हुने गरी बोल्नु भयो। उहाँले ‘दलितले छोएको खान्नँ भन्नुभयो,’ प्रेम बिएल नेपाली सेवासँग भने।

संविधानको धारा २४ मा छुवाछुत र भेदभावविरूद्धको हक उल्लेख छ। जसमा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गर्न पाइने छैन।

तर, जनप्रतिनिधिले नै यसरी सार्वजनिकस्थलमा जातीय विभेद गर्नु दुखद भएको दलित अधिकारकर्मीहरुले बताउँछन्। ‘उहाँ जनप्रतिनिधि जस्तो व्यक्तिले जातीय विभेद गर्नु दुखद हो, उहाँले नै यस्ता व्यवहार र अभिव्यक्ति दिएपछि अरुले के सिक्छन् ?’ एक मानव अधिकारकर्मीले प्रश्न गरिन्।

त्यस्तै सोही कार्यक्रममा सहभागी नागरिक अभियान्ता कर्ण दयाल पनि उपमेयरले जातीय विभेदलाई प्रोत्साहन गर्ने गरी अभिव्यक्ति दिएको बताउँछन्। ‘उहाँले सिधैं भन्नुभयो म अरुले छोएको खान्नँ। अरुले छोएको नखानु उहाँको अधिकार त होला तर उहाँले जातीय विभेदलाई प्रोत्साहन गर्ने गरी बोल्नुभयो। उहाँको यो शैलीबाट अन्य विभेद गर्नेहरु पनि उत्साहीत भएका छन्,’ उनले भने।

यता सोही कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी पन्थीले भने त्यहाँ विभेद नभएको प्रतिक्रिया दिए। उनले उपमेयर चन्दले ‘कसैले छोएको खान्नँ, बाहिरको पानी पनि खान्नँ’ मात्रै भनेको र त्यो दिनको घटनालाई लिएर कार्यपालिका बैठकपछि मात्रै दयाल जिल्ला प्रशासन कार्यालयमा आएको बताए।

त्यति कुरालाई मात्रै जातीय विभेद भन्न नमिल्ने बताउँदै प्रजिअ पन्थीले भने, ‘त्यसदिन त उहाँहरुबीच त्यस्तो विवाद भएको जस्तो लाग्दैन। कार्यपालिका बैठकपछि बल्ल उहाँहरु आउनुभएको थियो। सबै कुरा त मलाई पनि थाहा भएन्। दुबै पक्षलाई राखेर कुरा सुन्छु,’ प्रजिअ पन्थीले भने।

उनले उक्त घटनालाई व्यक्तिगत मनमुटावको विषय मात्रै भएको भन्नसमेत भ्याए।

यद्यपि, उपमेयर चन्दले त्यसदिन मात्रै नभएर विगतमा पनि कार्यपालिका सदस्यहरुमाथि जातीय विभेद गरिरहेको प्रेम दयाल बताउँछन्। उनकाअनुसार उपमेयर चन्दले नगरपालिकाको कार्यालयमा दलित सदस्यहरुले छोएको पानी नपिउने, तर्किएर हिँड्ने गर्छिन्। उनले उपमेयर पदमा निर्वाचित भएको दिनदेखि नै विभेद गर्दै आइरहेको भए पनि दलितहरुको संख्या काम भएका कारण चुपाचप सहनुपर्ने अवस्था रहेको दयाल बताउँछन्।

प्रजिअ पन्थीले पनि उपमेयर चन्दले अहिलेसम्म बाहिर कतै पानीसमेत नपिएको बताउँछन्। उनले यो कुरालाई चन्दको अधिकारको रुपमा व्यख्य गर्दै भन्छन्, ‘म पनि उहाँसँग धेरै कार्यक्रममा सहभागी भएको छु, उहाँले बाहिर केही खाएको देखेको छैन। उहाँले नगरपालिकामा पानी खान्नँ भन्नुलाई मात्रै जातीय विभेद भन्न त मिलेन, बाँकी अनुसन्धान गर्छाैँ,’ उनले भने।

दलित अधिकारकर्मीहरु भने उपमेयर चन्दले कार्यालयमा पानी पिउने वा नपिउने विषयको कुरा मात्रै नभएर जातीय विभेदलाई प्रोत्साहन गर्ने गरी अभिव्यक्ति दिनु नै गलत भएको बताउँछन्। उनकै कार्यशैलीका कारण वडा नं. ८, ९, १० र ११ का वडा अध्यक्षहरुले पनि जातीय विभेदजन्य विभेद क्रिया गरेको आरोप छ।

यस विषयमा बुझ्न खोज्दा उपमेयर चन्द सम्पर्कमा आइनन्। गाउँपालिकाले चलाएकाे भुक्तानी शिविरमा व्यस्त भएका कारण बाहिर रहेकाे गाउँपालिकाका प्रवक्ता अजवबहादुर पाण्डेले बताए।

प्रकाशित मिति: : 2023-06-14 17:00:00

प्रतिकृया दिनुहोस्