नेपालमा आज (आइतवार) थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
हालको अवस्थामा नेपालमा एक्टिभ केस अर्थात् उपचाररत संक्रमितको संख्या ५,९२३ जना रहेको छ। जसमध्ये प्रदेश नम्बर १ मा ७९ जना प्रदेश २ मा १ हजार ८ सय ८६ जना, बाग्मती प्रदेशमा ४१० जना, गण्डकी प्रदेशमा ४२८ जना प्रदेश ५ मा ४४७ जना कर्णाली प्रदेशमा २९६ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ७७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ६९५ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।