यातायात व्यवसायीले तत्काल गाडी नचलाउने, महासंघले भन्यो- भोलिबाट गाडी चल्ने कुरा सत्य होइन

भोलिबाट सार्वजनिक सवारी साधन चल्ने कुरा निराधार रहेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताएका छन्। यद्यपि उनले सुचारू गर्ने विषयमा छलफल भने भइरहेको बताए।

आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई उदृत गर्दै सोमबारबाट सार्वजनिक सवारी साधन सुचारु हुने समाचार बाहिरिएसँगै  महासंघका महासचिव सिटौलाले कोरोना भाइरसको महामारीबीच यातायात सञ्चालन गर्ने कार्यविधिमा छलफल भइरहेको बताएका हुन्।

‘यातायात मजदुरको सुरक्षा, यात्रुको सुरक्षासहित कोरोना भाइरसको महामारीबीच कुन तरिकाले यातायात सञ्चालन गर्ने भन्नेबारे कार्यविधिमा छलफल भइरहेको छ। यातायात सञ्चालन हुने पक्का भएपछि हामी आफै पत्रकार सम्मेलन गरेर जानकारी दिने छौँ’, महासचिव सिटौलाले भने।

यातायात सञ्चालन सम्बन्धी परिपक्व कार्यविधि नबनेसम्म गाडी नचलाउने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

‘गाडी खोल्न लाग्यो भनेर भ्रामक समाचार बाहिरिएको रहेछ। हामी कार्यविधिको लागि छलफलकै क्रममा छौं। महासघंले गाडी खोल्ने निर्णय गरेको छैन,’ सिटौलाले भने।

मजदुरको स्वास्थ्य सुरक्षा, कोरोना बीमा र गाडी रोक्ने निश्चित स्थान नतोकेसम्म नचलाउने उनले बताए।

‘हाम्रा मजदुरलाई स्वास्थ्य सुरक्षाको उपकरण, बीमा लगायतको व्यवस्था नभई कसरी काम गर्न पठाउने, भोलि केही भैहाल्यो भने जवाफदेही को हुन्छ?,’ उनले भने।

महासंघले गाडी नचलाउने घोषणा गरिरहे पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात, केही माइक्रो र ट्याम्पु भने राजधानीका सडकमा देखिन थालेका छन्।

सरकारले गत असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेपनि यातायात व्यवसायीले काम सुरु गरेका छैनन्।

प्रकाशित मिति: : 2020-07-19 15:38:32

प्रतिकृया दिनुहोस्