अन्तर्वार्ता

नेपालका विश्वविद्यालयले युवालाई बेरोजगार बनाइरहेका छन्: पुरन पोख्रेल (भिडियो)

लामो समयदेखि राेकिएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)काे निर्वाचन आगामी चैत ५ गते हुँदैछ। स्ववियु निर्वाचन नजिकिएसँगै देशभरका क्याम्पसहरु चुनावी माहोलले तातिइरहेका छन। सरकारी क्यापसहरु कुनै पार्टी कार्यालयभन्दा कम देखिँदैन। विद्यार्थी नेताहरु नतिजा आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भनेर दौडधुपमा लागिरहेका छन।

स्ववियु निर्वाचन भए मात्र विद्यार्थी संगठनहरु चलायमान हुन्छन र शैक्षिक संस्थाहरुले गलत गरेको बेला सचेत गराउन सकिन्छ भन्ने मान्यता छ। यही मान्यताका साथ राष्ट्रिय जनमाेर्चानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) पनि चुनावी चुनावी दाैडमा लम्किरहेकाे छ।

स्वविय निर्वाचनबारे अखिल छैठाैँकाे धारण के छ ? अखिल छैठाैँले स्ववियु निर्वाचनलाई कसरी लिएकाे छ ? अखिल छाैठाैँले क्याम्पस र विद्यार्थीहरुमा देखेका समस्याहरु के-के हुन् ? लगायत विद्यार्थी आन्दाेलनका विषयमा रहेर अखिल छैठाैँका त्रिभुवन विश्वविद्यालय इन्चार्ज तथा केन्द्रीय सचिव पुरन पाेख्रेलसँग बिएल नेपाली सेवाकाे लागि ध्रुब बस्यालले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:


विद्यार्थी आन्दोलनको वर्तमान अवस्था कस्तो छ ?

विद्यार्थी संगठन दलहरुको मोर्चा भएकाे र राष्ट्रिय राजनीतिसँग जोडिएको विषय भएकाले दलहरुले गर्ने भूमिका विद्यार्थी संगठनसँग जोडिएर आउँछ। विगतका दिनहरुमा विद्यार्थी आन्दोलन राणशासन, पञ्चायतदेखि प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालको सबै परिर्वतनको उठान आजसम्म विद्यार्थीले गरेका छन्। विद्यार्थी संगठन महंगी, भ्रष्टाचारलगायत राज्यले गर्ने हरेक प्रकारका दमन र राष्ट्रियताको रक्षाका लागि आन्दोलित छन। तर, हिजोका दिनहरुमा जुन जनपक्षीय गतिविधिहरु थियाे, आज ती गतिविधि केही सुस्ताएको जस्तो देखिन्छ।

तपाईंहरुले माउपार्टीको मुद्दा मात्र बोक्ने अनि विद्यार्थीका मुद्दाप्रति वास्ता नगर्ने गरेका कारण अहिलेकाे अवस्था आएकाे हाे भन्ने आराेप छ, के सत्य हाे ?

विद्यार्थी संगठनहरुले आफ्नो पार्टीको मुद्दा बोकेको आरोप केही हदसम्म सत्य हो। विद्यार्थी संगठनहरुले आफ्नो पार्टी सरकारमा हुँदा होस् वा नहुँदा हाेस् प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ। खासगरी विद्यार्थीहरु र आम न्यायप्रेमी जनताको मुद्दा बोकेर विद्यार्थी सरकारको प्रतिपक्षमा उत्रिनुपर्ने हो। अहिले कतिपय संगठनहरु आफ्नाे पार्टी सरकारमा छ वा छैन, हेरेर बसिरहेका छन्। यदी आफ्नो पार्टी सरकारमा छ भने अन्याय र अत्याचारविरुद्ध बोल्न हिच्किचाउने र मौन बस्ने काम भइरहेको छ। विद्यार्थी नेताहरु कुनै न कुनै रुपले टिकट पाउन र सांसद, मन्त्रीको स्वकीय सचिव हुनका लागि विद्यार्थीको मुद्दा छोड्ने काम हुँदैछ, यो गलत हो। हामीले अहिले विद्यार्थी संगठनलाई ‘तिमी यो समाजको सचेत वर्ग हौ भने तिम्रो पार्टी सरकार हुँदा वा नहुँदा विद्यार्थी र आमजनताको पक्षमा बोल्नुपर्छ’ भनेर सचेत गराइरहेका छौँ।

हिजोको तुलनामा विद्यार्थी आन्दोलन कमजोर देखिन्छ, नेपालको विद्यार्थी आन्दोलन कता जाँदैछ ?

हिजोका विभिन्न व्यवस्था परिर्वतनका लागि विद्यार्थीको योगदान आज तुलना गर्ने हैसियतमा छैन। किनभने, परिस्थितिअनुसार कलम छोडेर बन्दुकसँग जुध्नुपर्ने अवस्था थियो। राजतन्त्र र पञ्चायत फाल्न पुस्तक पढेर भाषण गरेर सम्भव थिएन र बन्दुक उठाए। तर, अहिले संघीय गणतान्त्रिक लोकतान्त्रिक व्यवस्थासम्म अइपुग्दा अहिले विद्यार्थी संगठनहरुको भूमिका फरक छ। हिजोको विद्यार्थी आन्दोलनले व्यवस्था परिर्वतन गर्‍याे, अब जनताको अवस्था परिर्वतनका लागि विद्यार्थीको आवश्यक नीति, महंगी, भ्रष्टाचार, गरिबी, दिगो विकास, शैक्षिक सुधार र जनताको समस्या अध्ययन गरेर सही नीति निर्माणका निम्ती दबाब दिने बेला हो।

विद्यार्थीले पढ्ने हो, राजनीति गर्नुहुन्न भन्ने मानसिकताका कारण नेपालको विद्यार्थी आन्दोलन कमजोर भएको हो। विद्यार्थीले मुलुककाे राजनीतिक अवस्थाबारे बुझ्न जरुरी छ। अब हरेक क्षेत्रमा दक्ष विद्यार्थीहरुले विद्यार्थी आन्दोलनमा लागे मात्र सोचेको जस्तो विद्यार्थी आन्दोलनको माहोल सिर्जना हुनेछ।

तपाईंहरुकै अराजकताका कारण विश्वविद्यालय अस्तव्यस्त भएको आरोप छ नि ?

यो पूर्ण रुपमा सत्य भन्न मिल्दैन। विश्वविद्यालय एउटा महत्वपूर्ण शैक्षिक संस्था हो। तर, चरम राजनीतिक भागबण्डाबाट गुज्रिरहेका कारण समस्या आएको हो। विद्यार्थी नेताहरु सरकारको मुख ताकेर अवसरवादी चरित्र राख्ने भएका कारण यस्तो देखिएको हो। यो मुलुकको शिक्षा नीति कस्तो बनाउने ? नेपालको शैक्षिक वर्गलाई कस्तो उत्पादन गर्ने ? भन्ने विषयमा विश्वविद्यालयकाे ध्यान छैन। विश्वविद्यालयका पदाधिकारीकाे नीति निर्माणमा ध्यान छैन। यिनिहरुको ध्यान भनेको शैक्षिक सुधार, पाठ्यक्रम सुधार, रोजगार, मुलुकलाई चाहिने उत्पादन गर्न छोडेर केही संगठनले राजनीतिक अखडा बनाएका छन। विश्वविद्यालयका विद्यार्थीहरु समग्रमा त्यस्तो नराम्राे हाेइन, विश्वविद्यालय आफैं गैरजिम्मेवारी छ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिसक्यो अनेरास्ववियु छैठौंले तयारी कसरी गरिरहेको छ ?

त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि राेकिएकाे स्ववियु निर्वाचन चैत ५ गते गर्ने घोषणा गर्दै कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ। भने, फागुन १९ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएकाे छ। अनेरास्ववियु छैठौँले देशभर उम्मेदवार उभ्याएकाे छ। ‘आत्मनिर्भर, प्रविधिमैत्री, सर्वसुलभ, गुणस्तरीय उच्च शिक्षा हाम्रो अभियान, शैक्षिक भ्रष्टीकरण र व्यापारीकरणका विरुद्ध अखिल (छैठौँ)लाई मतदान’ भन्ने नाराका साथ देशका विभिन्न त्रिभुवन विश्वविद्यालयबाट समन्वय प्राप्त क्याम्पस र आङ्गिक क्याम्पसहरुमा हामीले तयारी तीव्र पारेका छौँ। यो सँगै विश्वविद्यालयको तयारी पनि तीव्र पारेका छौँ।

त्रिभुवन विश्वविद्यालको स्ववियु सभापतिमा तपाईं आकांक्षी हो ?

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी र विश्वविद्यालयको निर्देशिकाभित्र पर्ने अध्ययनरत विद्यार्थी रहेकाले मेरो संगठनको तर्फबाट स्ववियुको अध्यक्ष उम्मेदवार बन्न योग्य व्यक्ति भएको र संगठनले मेरो नाम निर्णय गरेको खण्डमा म तयार छु।

तपाईंकाे एजेण्डा के हो ?

त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि स्ववियु निर्वाचन गर्न सकेको छैन। अखिल छैठौँका तात्कालीन महासचिव विमल पोखरेलले सर्वोच्च अदालतमा काम चलाउ स्ववियु खारेज गरेर नयाँ स्ववियु गठन गर्नुपर्छ भनेर रिट दायर गर्नुभएको थियो। त्यसको पक्षमा सर्वोच्चले फैसला गर्‍याे र ०६४ देखि रोकिएको निर्वाचन ०७३ सालमा मुख्य-मुख्य क्याम्पसहरुमा मात्र भएको थियो। हाम्रो संगठनको एजेण्डा भनेको लामो समयदेखि रोकिएको स्ववियु निर्वाचन निरन्तर हुनुपर्छ भन्ने हाे। किनभने, स्ववियु विद्यार्थीहरुको एउटा संस्था हो, यसलाई बन्धक बनाएर राख्न हुन्न विद्यार्थीको आवाज लैजानका लागि स्ववियु बचाउनुपर्छ।

विश्वविद्यालयमा विभिन्न विभागहरु छन्, ती विभागले निधारर्ण गर्ने शुल्क, पठनपाठन, आवश्यक पाठ्यक्रम, भौतिक पूर्वधार र प्रविधिक शिक्षा निर्माणमा आवाज उठाउने मुख्य एजेण्डा हुन्। भने, उच्च शिक्षा दिने विश्वविद्यालयहरुले बेरोजगारी उत्पादन गरेका कारण आमविद्यार्थीहरु विदेश जाने स्थितिमा विश्वविद्यालयले उत्पादन गरेकाले श्रम तथा रोजगारसँग जोड्न प्रत्यत्न साथै पढ्ने मात्र होइन, पढेको विषयमा जागिर र पढ्न पाउनुपर्छ भन्दै हामीले यी विषयलाई एजेण्डाको रुपमा अगाडि सारेका छौँ।

विद्यार्थी संगठनहरु निर्वाचनमा गठबन्धन गरेर जाने तयारीमा देखिन्छ तपाईंहरु कसरी जानुहुन्छ ?

हामी राप्रपा बाहेकका गणतन्त्रवादी, प्रजातन्त्रवादी संगठनसँग मिलेर जान सक्ने नीति खुल्ला गरेका छौँ। यो भन्दा पहिलेको स्ववियु निर्वाचनमा पनि मिलेर गएका थियौँ। त्यसैले सम्बन्धित क्याम्पसको आवश्यकता हेरेर एजेण्डा मिल्ने संगठनहरुसँग तालमेल हुने हो। दलहरुको गठबन्धन हाम्रो फरक-फरक गठबन्धन हो, विद्यार्थी भनेको प्रतिपक्ष भएकाले आम खबरदारीका लागि हामीले एजेण्डा मिल्नेहरुसँग सम्भावना भएको ठाउँमा गठबन्धन गरेर जान्छौँ।

भनेपछि प्रतिपक्षमा हुनुपर्ने विद्यार्थी संगठनहरु पनि अब माउपार्टी जसरी गठबन्धनविना चल्न नसक्नेभए ?

यस्तो होइन। देशभर एजेण्डाका साथ एकल उम्मेदवारी दिन्छौँ। हामी दलहरु जसरी जादैनौँ, मात्र एजेण्डा मिल्नेहरुसँग सहकार्य गरेर अगाडि बढेको पुरानाे इतिहासलाई मनन गरेर क्यापसहरुको एजेण्डालाई हेरेर सहकार्य गरेर अगाडि बढ्न सक्छौँ।

स्ववियु निर्वाचनमा सहकार्य गरेर जान सक्ने फरक-फरक दलका विद्यार्थी संगठनहरु शैक्षिक सुधारका लागि किन मिलेर जान सक्दैनन् ?

गलत कदमविरुद्ध अखिल छैठौँले निरन्तर खबरदवारी गरिरहेका छ। इतिहास हेर्ने हो भने यो मुलुकमा सबैभन्दा धेरै राष्ट्रियता, महंगी र भ्रष्टाचार हुँदै यो देशलाई काम नलाग्ने संघीयताको विरुद्धमा एक्लै कडा रुपमा आन्दोलन हामीले गरिरहेका छौँ भने क्याम्पस, शैक्षिक संस्थामा हुने हरेक अराजक गतिविधि र पाठ्याक्रम, चर्को शुल्क, भौतिक संरचनालगायतका विषयमा संयुक्त, एकल रुपमा हामीले निरन्तर आवाज उठाइरहेका छौँ।

तपाईंहरुले चाहेको विद्यार्थी संगठन र विद्यार्थी आन्दोलन कस्तो हो ?

नेपालको विद्यार्थी संगठनले आमजनता, जो शक्ति र सशानभन्दा टाढा छन- गरीब, किसान, मजदुर, दलित, जनजाती, शाेषित, उत्पीडित यो मुलुकले ओझेलमा पारेकाहरुका लागि लडेर ल्याएकाे परिवर्तन हाे गणतन्त्र। त्यसैले उनीहरुले ती वर्गहरुको बारेमा न्यायोचित सर्वसुलभ रुपमा शिक्षा पाउनुपर्छ भनेर निरन्तर आवाज उठाउनुपर्छ।

गणतन्त्रकाे लागि लडेकाहरुका छोराछोरीले विभेदरहित शिक्षा प्राप्त गर्न पाएका छैनन्। आम रुपमा निराशा मात्र देखिन्छ। कम्तीमा गणतन्त्रको आभास गर्न पाउनुपर्छ। त्रिभुवन विश्वविद्यालयको अराजक गतिविधि भ्रष्टाचार, नयाँ विषय स्थापना, पाठ्यक्रम बनाउने, लोकसेवाकाे कपी चेक, राजनीतिक भागबण्डाको आधारमा नियुक्ती लगायतका भ्रष्टीकरणको विरुद्धमा र ओझेलमा परेका वर्गहरुको लागि सर्वसुलभ रुपमा शिक्षा प्राप्ति र जनजीविकाको विषयमा विद्यार्थीहरु बोल्न छोडेका छन्, निरन्तर आवाज उठाउनुपर्छ।

वास्तविक विद्यार्थीहरुले संगठनको नेतृत्व नगरेका कारण विद्यार्थी संगठन कमजोर भएको देखिन्छ, के यो सत्य हो ?

यस्तो होइन, स्ववियु नहुनुका कारण संगठनहरु कमजोर भएका हुन। आज विभिन्न राजनीतिक दलमा भएका युवा नेताहरु प्राय: स्ववियु जितेर आएकाहरु हुन्। त्यसैले स्ववियु नहुँदा विद्यार्थीहरु राजनीतिक सिक्न र विद्यार्थीहरुको बारेमा बोल्दै परिस्कृत हुन सकेका छैनन्। अनिवार्य स्ववियु भए मात्र आमविद्यार्थी राजनीति सिक्न र यो मुलुकको परिर्वतनसँगै राजनीति परिस्कृत हुन सक्छन्। देशको राजनीति हाँक्ने विज्ञान प्रविधि, आर्थिक, विद्युत, भौतिक पूर्वाधार विकास, उद्योग व्यवसाय, समाज रुपान्तरणमा विद्यार्थीहरु जब स्ववियुबाट निर्वाचित भएर आउने छन, तब मात्र विद्यार्थी आन्दोलनले एउटा रुप लिएर वर्ग, समुदाय र देशको नयाँ पुस्ता तयार हुन्छ।

नेपालको शैक्षिक अवस्थाका कारण विद्यार्थीहरु देश छोडेर बाहिरिनुपर्ने अवस्था छ तर नेपालका विद्यार्थी संगठनहरु किन बोल्दैनन् ?

देशको पाठ्यक्रम र शिक्षा प्रणाली सुधारात्मक रुपमा लैजान जरुरी छ। कुनै विद्यार्थीले वर्षौ लगाएर लिएको डिग्रीकाे सर्टिफिकेट बजारमा बिग्दैन र देशको पूर्ण बेरोगार भएर क्यापसबाट निस्कन्छ। त्यसकारण कारण देशको शिक्षा प्रणालीको कारण समस्या भएकाे हाे। त्यसैले हामीले विद्यार्थीलाई प्राविधिक धरहरामा लैजानुपर्छ भनिरहेका छाैँ। भने, अभिभावकले पनि विद्यार्थीको रुचि लागेकाे विषय छनोट नगरी जर्बजस्त रुपमा पढ्नु परेका कारण समस्या आएको हो। हामी यो गहन विषयमा निरन्तर बोलिरहेका छौँ।

प्रकाशित मिति: : 2023-03-04 21:00:00

प्रतिकृया दिनुहोस्