बेँसीशहर–चामे सडक अवरुद्ध

जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाले आज बिहान पहिरो जाँदा सो स्थानमा सडक अवरुद्ध भएको हो । 

लमजुङ –मनाङको एक मात्र यस सडकखण्डको च्याम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनीयर सुमन अधिकारीले बताए। उनका अनुसार सो स्थानमा सडक माथिबाट पहिरो खस्दा करीब २० मिटर सडक अवरुद्ध भएको छ । ठूल्ठूला ढङ्गासहितको पहिरो पन्छाउन समय लाग्ने उहाँको भनाइ छ। 

सो पहिरो एक्साभेटरले हटाउने तयारी भएको र समय लाग्ने भएको छ । सो स्थानबाहेक सडकखण्डअन्तर्गत गाउँपालिकाको रामबजारमा समेत गएको पहिरो भने हटाइसकेको छ । अन्य स्थानमा समेत सानासाना पहिरो गएको र  सवारीसाधन सञ्चालन हुन सक्ने भए पनि च्याम्चेको पहिराले सञ्चालन हुन नसकेको इ अधिकारीले बताए।

पैँसठ्ठी किमीको सो सडक दैनिकजसो अवरुद्ध हुँदै खुल्दै आएको छ। बेँसीशहरस्थित तत्कालीन कार्यदल नेपाली सेनाले २०६९ सालमा सो सडकको निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेयता सवारीसाधन सञ्चालन हुँदै आएको छ। हालसम्म पनि गुणस्तरीय सडक हुन नसक्दा वर्षेनी वर्षायाममा सडक अवरुद्ध र  बिग्रिने गर्नाले सवारी साधनदेखि यात्रुलाई समस्या हुँदै आएको छ। रासस

प्रकाशित मिति: : 2020-07-19 13:54:59

प्रतिकृया दिनुहोस्