भारतमा २४ घण्टामा तीन लाख ५८ हजार बढीकाे कोरोना परीक्षण, करिब ३९ हजारमा संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा लगभग ३९ हजारमा  कोरोना भाइरस (काेभिड–१९)काे संक्रमण पुष्टि भएकाे छ। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार ३८ हजार ९०२ जनामा कोरोना भाइरस (काेभिड–१९)काे संक्रमण पुष्टि भएकाे हाे।  अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६१८ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको कारण ५४३ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको छ। 

भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ। यता तामिलनाडुमा एक लाख ६५ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ। 

यता अर्थिक नगरी दिल्लीमा एक लाख २१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन्।

भारतमा कोरोना संक्रमणसँगै परीक्षण संख्या पनि बढाइएको छ। अहिलेसम्म भारतमा एक करोड ३७ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको आईसीएमआरले बताएको छ।
 
पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख ५८ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको भारतीय अयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले बताएको छ। 

भारतमा अहिलेसम्म ६ लाख ७७ हजार ४२३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति: : 2020-07-19 11:50:47

प्रतिकृया दिनुहोस्