अमेरिका मध्यावधि निर्वाचन २०२२

अमेरिकी आमचुनावमा दुई नेपाली उम्मेद्वार : के होला परिणाम ?

डा. प्रदीप भट्टराई

बाल्टिमोर, मेरिल्याण्ड

अमेरिकामा भोलि मंगलबार हुने मध्यावधि निर्वाचनको मतपत्रमा दुई नेपालीको नाम रहेको छ । ती नाम हुन् ह्यारी (एच.बी) भण्डारी र सराहना श्रेष्ठ । भण्डारी  मेरिल्याण्ड डिस्ट्रिक्ट ८ बाट  र  श्रेष्ठ न्युयोर्क डिस्ट्रिक्ट १०३ बाट हाउस अफ एसेम्बेली मेम्बरका उम्मेद्वार हुन् । के उनीहरूले जित्लान् र अमेरिकाले भोलि इतिहासमा पहिलोपटक दुई नेपाली डेलिगेट पाउला ?, अमेरिकाको नेपाली समुदाय यतिबेला यिनै प्रश्नहरूको उत्तर पर्खिरहेको छ । 

को हुन् भण्डारी ?

हिर बहादुर भण्डारीका रूपमा २००६ मा अमेरिका पुगेका उनको नाम यो नाम एच बी भएर कोष्टमा गयो भने अहिले उनी ह्यारी भण्डारीका नामले सुपरिचित छन् । पर्वत फलेबास थापाठाना थातथलो भएका भण्डारीले युनिभर्सिटी अफ मेरिल्याण्ड बाल्टिमोर काएन्टीबाट यसै वर्ष पीएचडी गरेपछि उनी डा. भण्डारी भएका हुन् । 

पेशाले शिक्षक रहेका भण्डारी अमेरिकामा मूलधारको राजनीति गर्नुपर्छ भन्ने पहिलोपुस्ताका एक सफल अभियन्ता हुन् । डेमाोक्रेटिक पार्टीबाट राजनीति सुरू गरेका उनी पार्टीको मेरिल्याण्ड राज्यको पहिलो निर्वाचित केन्द्रीय समिति सदस्य हुन् । मेरिल्याण्डको डिस्ट्रिक्ट ८ लाई आफ्नो निर्वाचन क्षेत्र बनाएका उनी २०१४ मा पहिलोपटक मेरिल्याण्ड हाउस अफ एसेम्बेली सदस्यका लागि उम्मेद्वार भएका थिए। तर, यसपटक उनलाई सफलता हात लागेन । २०१८ मा भने उनले जीत मात्र हात पारेनन्, अमेरिकाको नेपाली मूलको पहिलो डेलिगेट हुने इतिहास पनि बनाए । 

मेरिल्याण्ड हाउस अफ एसेम्बेलीका मौजुदा सदस्य डेलिगेट डा. भण्डारी दोस्रो कार्यकालका लागि सोही पदका निम्ति उम्मेद्वार रहेका छन् । पार्टीको संस्थापन पक्षमा रहेका भण्डारी गत राष्ट्रपतिको निर्वाचनमा 'बाइडेन फर नेपाली' भन्ने चुनावी क्याम्पेनको संयोजन गरेका थिए । 

डेमोक्रेटिक प्राइमरीमा अनअपोज्ड रहेका उनले तीन स्थान रहेको निर्वाचन क्षेत्रमा दोस्रो लोकप्रिय मत पाएका थिए ।

को हुन् सराहना श्रेष्ठ ? 

नेपालको फोटोग्राफी इतिहाससँग साइनो गासिएको परिवारकी  सराहना श्रेष्ठ कुनै समय नेपालमा ग्राफिक डिजाइनिङ पेशामा थिइन् र यही क्रममा उनी पत्रकारितामा पनि जोडिएकी थिइन् । काठमाडौं थातथलो भएकी उनी २००१ मा अमेरिका आएकी थिइन् । २०१९ मा मात्र अमेरिकी नागरिकता लिएकी सराहनाले पनि पहिलो पुस्ताकाो अरू आम आप्रवासीजस्तै अमेरिकी सपनालाई पछ्याउदै यहाँ आइपुगेकी हुन् । 

पछिल्लोसमय डेमोक्रेटिक पार्टीको प्रगतिशील धारसँग जोडिएकी उनी बर्नी स्याण्डर्सकी कट्टर समथर्क हुन् । हरितगृह प्रभाव, वातावरण, सामाजिक न्यायजस्ता प्रगतिशील एजेण्डाका लागि एक अभियन्ताका रूपमा काम गर्दा गर्दै उनी ती एजेण्डालाई मूर्तरूप दिन राजनीतिमा होमिएकी हुन् ।

न्युयोर्कको हड्सन भ्यालीलाई कर्मक्षेत्र बनाएकी उनले तीन दशकदेखि डेमोक्रेटिक पार्टीको तर्फबाट विधायक रहेका भेट्रन प्रतिस्पर्धीलाई पाखा लगाएकी थिइन् । 

के होला परिणाम ?

अहिले दुबै नेपाली उम्मेद्वार विजयोन्मुख देखिएका छन् ।

सराहनालाई गाढा नीलो निर्वाचन क्षेत्रको फाइदा छ। डेमोक्रेटिक पार्टीको वर्चश्व रहेको यस क्षेत्रमा यसअघि डेमोक्रेटिक उम्मेद्वारले चुनाव नै नहारेको ट्रयाक रेकर्ड छ । यो पृषठभूमि हेर्दा एक मात्र डेलिगेट रहने यस क्षेत्रबाट  उनको जीत सुनिश्चित जस्तै छ । 

ह्यारी भण्डारी मौजुदा डेलिगेट भएको र पहिलो कार्यकालमा राम्रै काम गरेको ट्रयाक रेकर्डले गर्दा उनको जीत पनि लगभग निश्चित छ । यस क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने तीन उम्मेद्वार निर्वाचित हुने भएकाले पनि भण्डारी पहिलो तीनमध्ये कुनै पनि स्थानमा रहेर जीत हासिल गर्ने प्रवल सम्भावना रहेको हो ।

यस अतिरिक्त  डेलिगेट डा. भण्डारी यस क्षेत्रका एक मात्र निर्वाचित डेलिगेट पनि हुन् । उनीसँग प्रतिस्पर्धा गरिरहेका अरू प्रत्यासीमध्ये डेमोक्रेटिक पार्टीकै कार्ल ज्याक्सन मौजुदा हाउस अफ एसेम्बेलीमा डेमोक्रेटिक पार्टीले मनोनित गरेका डेलिगेट हुन् । २०१८ को आम निर्वाचनमा उनी चौथो स्थानमा रहेर पराजित भएका थिए । यी दुई परिचित अनुहारबाहेक दुबै पार्टीका अन्य सबै उम्मेद्वार नयाँ छन् । यसको फाइदा पनि स्वभाविक रूपमा डा. भण्डारीलाई हुने देखिन्छ ।

जे होस्, यसपटक अमेरिकाको नेपाली समुदायले दुई राज्य विधानसभा सदस्य पाउँने लगभग निश्चित छ । यसबाट नेपालीको पहिचान अरू स्थापित र बिस्तार हुनेछ । अमेरिकाको मूलधारमा नेपाली अरू देखिने छ र क्रमश: सुनिदै जाने छ । अमेरिकाको नेपाली समुदायका लागि आफैंमा यो एक सुनाउन लायक खुशीको खबर हुने छ । 

प्रकाशित मिति: : 2022-11-07 23:43:00

प्रतिकृया दिनुहोस्