साउन महिनायता सुदूरपश्चिममा कोरोना संक्रमण दर न्यून

बिएल संवाददाता

महेन्द्रनगर

मुलुकभित्र कोरोना संक्रमणले प्रवेश पाउँदा अन्य प्रदेशको तुलनामा उच्च जोखिमका रुपमा लिइएको सुदूरपश्चिममा साउन महिना लागेयता संक्रमण संक्रमण दर न्यून रहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १ गते यहाँका नौ जिल्लामा संक्रमण पुष्टि भएका ३२७ थिए । उक्त संख्यामा संक्रमित देखिँदा यहाँ ५२ जना कोरोना जितेर घर फर्किएका थिए । असार १५ आइपुग्दा यहाँ संक्रमितको संख्या ह्वात्तै बढेर दुई हजार २६६ पुग्यो । त्यसको दश दिनपछिको तथ्यांक हेर्दा संक्रमितको संख्या बढेर तीन हजार ७५३ पुग्यो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भारतलगायत अन्य मुलुकबाट आएका नागरिकमा मात्रै कोरोना संक्रमण देखिएको बताए । ‘एकआध बाहेक यहाँ समुदायमा कोरोना फैलिन पाएन्,’ निर्देशक डा. अवस्थीले भने, ‘कोरोनासितको लडाइमा होमिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतमा यसको संक्रमण देखियो ।’

निर्देशनालयको तथ्यांक हेर्दा असार अन्तिममा यहाँ संक्रमितको संख्या तीन हजार ८०१ पुग्दा निको हुनेको संख्या भने एक हजार ५८५ पुगेको थियो । सुदूरपश्चिममा सुरुवातदेखि नै सबैभन्दा बढी संक्रमण कैलालीमा देखिएको निर्देशनालयले जनाएको छ ।

हालसम्म कैलालीमा मात्रै ८९० जनामा कोरोना देखिएको कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले जानकारी दिए। कोभिड–१९ सुदूरपश्चिम प्रदेशका सम्पर्क व्यक्ति नरेन्द्र कार्कीले संक्रमणको दायरा साघुरिँदै गएको बताए । ‘असारमा संक्रमण बढेपनि साउनयता घट्दो गतिमा छ,’ उनले भने, ‘निको भएर फर्किने क्रम पनि बढेको छ ।’ बिहीबार तीन हजार ८८० देखिएकोमा शुक्रबार भने एकजना मात्र बढेको देखिएको छ । सुदूरपश्चिममा तीन हजार ८८१ जनामा संक्रमण देखिँदा एक हजार ६६८ जना निको भएर घर फर्किसकेका छन् ।

यहाँ २९ हजार ७८७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने एक हजार ५१० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोरोनाबाट यहाँ हालसम्म आठ जनाको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हरेकदिन जसो सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस संक्रमणको ग्राफसहितको विवरण सार्वजनिक गर्छ । कोरोना संक्रमितको स्वास्थ्य उपचार, परीक्षण र संक्रमितहरुको ‘ट्राभल हिष्ट्री’समेत संकलन गरेर रोकथाम तथा न्यूनीकरणमा लाग्नुपर्ने निकायले नै उमेर समूहका आधारमा संक्रमित देखाइएका वयोवृद्ध सम्पर्कमा छैनन् । निर्देशनालयको तथ्यांक ९० वर्षमाथि एक जना संक्रमित रहेको देखाए पनि ती संक्रमित भनिएका व्यक्ति न स्थानीय तहको सम्पर्कमा छन् । नत कुनै सरोकारवाला निकायको नै ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत असार १८ गते सुदूरपश्चिममा ९६ जनामा कोरोना संक्रमण भेटियो । जसमा कैलालीको जानकी गाउँपालिकामा ९७ वर्षीय पुरुषसहित छ जनामा संक्रमण देखिएको बताइए पनि संक्रमित वृद्धको परिचय भने खुलेको छैन। कोभिड–१९ कैलालीका सम्पर्क व्यक्ति जयसिंह भण्डारीले भने, ‘प्रदेश निर्देशनालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वृद्ध जानकी गाउँपालिका भनेपनि त्यहाँ पनि छैनिन् ।’

उमेरसमूहका आधारमा देखाइएको पीसीआर पोजेटिभको संख्या ९० वर्षदेखि माथि एक जना रहेको ग्राफमा उल्लेख छ । कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरी ९७ वर्षीय पुरुष संक्रमित ग्राफमा देखाइए पनि पालिकामा नभएको बताए ।

यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले भने ती ९७ वर्षीय संक्रमितको कोरोना संक्रमण भएको पुष्टिसहितको रिपोर्ट गत असार १८ गते त्रिभुवन शिक्षण अस्पतालबाट आएको बताए । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अवस्थीले प्रदेशमा देखिएका ७० वर्षमाथिका सबै वृद्धवद्धा भारतबाटै आएको दाबी गरे । ‘वृद्धवद्धा रोजगारीदेखि, छोराछोरीसित भारतमा बस्दै आएको र कोरोनाका कारण घर फर्किदा संक्रमण देखिएको हो,’ निर्देशक डा. अवस्थीले भने, ‘सुदूरपश्चिममा एक जनाबाहेक अरुमा स्थानीय संक्रमण अझै देखिएको छैन ।’

प्रकाशित मिति: : 2020-07-18 14:00:29

प्रतिकृया दिनुहोस्