लकडाउनमा हराएकी केटी

थङ्ग्रङ्ग तर्साएर केही कम्पन भयो सिरानी मुनि। ठूलो सास लिएर जुरूक्क उठेँ।

भुइँचालो! मनमा एउटा सानो डरको तरङ्ग पैदा भयो। त्रास छ भुइँचालोको, भय र आतंक जहिल्यै हुन्छ काठमाडौंमा। बेला-बेला गइरहन्छ २०७२ सालको भुकम्पका पराकम्पहरू।

सिरानी पल्टाएर फोन उठाएँ, ‘तैट’ नेपाल टेलिकमको पो मेसेज आ’को रै’छ।

फोन हेर्दै कोठाको दाइने पट्टिको झ्यालतिर पुगेँ। बिहानको ७ बजेको रहेछ। उसलाई एकपटक फेरि फोन लगाएँ। तर जवाफ फेरि उही आयो- ‘माफ गर्नुहोला तपाईँले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ।’

‘चिनी धेरै खाएपछि तितो हुन्छ’ भनेझैं त्यो आवाज मलाई सुन्दा सुन्दा दिक्दारी लागिसकेको थियो। बिहान बिहानै कर्कस आवाजले ‘मुडअफ’ गरिदियो।

हिजो ११ बजे देखिनै उसको फोन अफ थियो।

घामका धर्साहरू बालकोनीको रेलिङमा छरिएका थिए, म बाहिर निस्किएँ।

खुल्ला आकाशमा चराहरू उडिरहेका थिए, सुनसान काठमाडौंलाई एकटकले हेरेपछि थाहा भयो-‘काठमाडौं पनि सुन्दर रहेछ।’

सँधैको प्रदुषण र कोलाहालबाट मुक्त पाएको सहर आज आफ्नै सुन्दरता देखेर कतै आफैंसँग दङ्ग परेको जस्तो, कतै नव-दुलहीले घुम्टो खोलेपछिको संकोच र कतै रोएर आँसु पुछिसकेपछिको सपाट मुहार जस्तै महसुस भयो काठमाडौंको अहिलेको हाल।

हुन त यो सहरको मुटुमा अनगिन्ति दर्दहरू छन्, कहिल्यै नभरिने चोटका खाल्डाहरू छन् जहाँ सँधै खुसी खोज्दै आफूसँग पौठेजोरी खेल्ने मान्छेहरूले बुर्कुसी मार्छन् चोटको खाल्डाहरूमा त्यसैले त होला यो सहर भित्रैबाट निसासिन्छ। तर पनि बाँच्न त बाँचिरहेकै छ काठमाडौं पल-पल मरेर पनि बाँचिरहन्छ अरूलाई बचाइरहन्छ, जीवन दान दिएर।

***

म बाथरूम पसेँ आफूलाई सकेसम्म फ्रेस बनाउने प्रयासमा लागेँ। निस्केर कोठामा आएर उसलाई फेरि कल गरेँ। तर फोन अझै अफ थियो।

मनमा एक खालको छटपटीले डेरा जमायो, आखिर किन उसले फोन अफ गरी? हिजोसम्म त सब ठिकै त थियो।

किन एकाएक ऊ कुनै पत्तै नदिकन यसरी कन्ट्याकलेस भएकी छे। म नसोची रहन सकिनँ, आफ्नो सोचाइलाई निर्वन्ध छाडिदिएँ। कहिलेकाही विचारहरूलाई बग्न दिएकै राम्रो हो रे, जव विचारमा लगाम लगाइन्छ त्यो जुन कुनै बेला विष्फोट हुन सक्छ।

पेटमा बिहानदेखि नै केही परेको थिएन। पानीसम्म खाने मेरो जाँगर थिएन। म किचेनतिर लागेँ, र्‍याकमा राखिएको बन्द पाउरोटीको प्याकेटले मलाई हेरेको जस्तो लाग्यो। हिजो बाँकी भएको दुध तताउन लागेँ। बटर सकिन थालेछ मुस्किलले आजको लागि मात्र बाँकी थियो।

पाउरोटीमा बटर दल्न थालेँ, दुध तातिसकेको थियो। पाउरोटी टोक्दै मैले हिजो ऊ सँग भएको च्याट सम्झन थालेँ।

***

‘कता हो?’ मैले ५ बजे तिर उसलाई मेसेज पठाएको थिएँ। ‘बाथरूममा’ उसले भनी।

‘के गर्दै नि?’ ‘बाथरूममा के गर्छन्?’ उसको प्रतिप्रश्न सँगैको स्माइली।

‘फोन गरम् त?’ मैले हाँस्दै उसलाई जिस्काउन थालेँ।

‘ह्या! पर्दैन, नुहाउन लागेको हो के।’ ‘च्याट गर्दै नुहाउने? यो कस्तो कलियुग हो?’ म अझ जिस्किएँ।

‘आको मेसेजको रिप्लाई देको त हो,’ उसले ठाडो जवाफ दिइ। म जिस्किने मुडमै थिएँ, ‘ल छिटो निस्क न त।’ ‘एकै क्षण ड्रेस फेर्छु,’ ऊ अपलाइन भइ।

त्यसपछि हामी बिच कलमा थोरै कुराकानी भएको थियो।

‘बाबाले घर बोलाउनु भाको छ।’ ‘कसरि जाने त लकडाउनमा?’ ‘थाहा छैन, तर यहाँ बस्न गारो भैसक्यो मलाई। अफिस पनि बन्द छ कहिले खुल्छ टुङ्गो छैन,’

उसले यस्तै भनेकी थिइ।

हुन पनि हो लकडाउनले गर्दा हाम्रो जिवनशैली नै उथलपुथल भएको थियो। एउटी काठमाडौंमा जब गरिरहेकी मान्छेलाई यस्तो बेला कस्तो समस्या पर्छ म महसुस गर्न सक्थेँ।

तर महसुस गरेर मात्रै के हुन्थ्यो र? आखिर समस्या समस्या नै हो साहुनुभूतीले समाधान मिल्ने होइन।

दुरीका हिसाबले उसको घर टाढा थियो "धनगडी" जान पनि मुस्किल नै पर्थ्यो यो अवस्थामा।

***

पाउरोटी टोकेर सकियो तर यादहरू सकिएन। खै कस्तो झुकाव छ ऊ सँग मेरो म यसै भन्न सक्दिनँ।

लकडाउन अगाडि एउटा सानो संयोगले भेट्टीएकी ऊ कुनै परिचित मान्छे जस्तै लाग्थ्यो मलाई।

त्यस दिन म घर नजिकको क्याफेमा कफी पिउदै थिएँ। ऊ अर्को टेबुलमा अर्की एउटी केटी सित बस्दै थिई।

सायद उसको साथी थिइ । त्यति नै बेला मलाई एउटा फोन आएको थियो अफिसबाट। मैले फोन उठाएर केही जरूरी क्लाइन्टहरूका विबरण पकेट डाइरी निकालेर टिप्दै थिएँ। उताबाट मेरो असिस्टेन्टले डिक्टेट गराइरहेको थियो।

कफी सकेर म त्यहाँबाट निस्किएको थिएँ, निस्किदै गर्दा उसलाई विना कुनै प्रयोजनले झुलुक्क हेरेको थिएँ। हाम्रा आँखा जुधेका थिए। एउटा सानो मुस्कान साटिएको थियो।

कोठामा पुगेर मैले आफ्नो पाइन्टको पकेटबाट डायरी निकाल्ने सोचेर हात त्यता पुर्‍याएँ। ‘लौ! छैन त डायरी।’ मेरो होस-हवास उड्यो। निक्कै महत्वपूर्ण विवरण त्यहाँ थिए। कता परेछ त? मैले अघि क्याफेको कुरा सम्झिएँ। डायरी निकालेकै हो। अनि केही जरूरी चिज टिपेको पनि हो। सबै याद थियो मलाई तर निस्कने बेला डायरी त्यही टेबलमै पो छोडे जस्तो लाग्यो।

‘कस्तो हुस्सु मान्छे,’ म आफैंसँग मुर्मुरिन थालेँ।

रूमबाट बाहिर निस्किदा साँझको ७ बजेको थियो। क्याफे खुल्लै त होला भनेर सोझै क्याफेतिर लागेँ। भित्र गएर म बसेको टेबलतिर यसो हेरेँ। तर त्यहा डायरी थिएन। केही केटाहरू त्यही टेबलमा बसेर चिया चुरोट पिउँदै थिए। ‘लौ! पक्का हरायो।’ मनमनै निर्क्योल गरेर म सरासर घर फर्किएँ।

***

भोलिपल्ट म बेलुकाको समयमा फेरि सोही क्याफेमा गएँ। म बसेको केही मिनेटमै ऊ र उसको साथी पनि क्याफेमा छिरे।

भित्र पस्नासाथ दुइ आँखा चार भए, म कफि लिँदै बसिरहेको थिएँ। ऊ मेरै टेबलमा आइपुगी ‘कस्तो भुलक्कड हजूर त।, आफ्नो सामानको ख्याल गर्नुपर्छ नि,’ उसले हाँस्दै भनी। मैले आफू अगाडिको कुर्सीमा बस्न इसारा गरेँ।

‘लिनुस्’ उसको हातमा मेरो डायरी थियो। ‘हजूरले छोडेर जानु भएछ अनि मैले भोलि आउनुभयो भने दिउँला भनेर राखिदिएकि।’ ‘धन्यवाद है तिमीलाई,’ मैले उसको हातबाट डायरी लिदै भनेँ।

‘न चिनेको मान्छेलाई तिमी?’ मुखबाट शब्द फुत्कि त हाल्यो। म लाजले रातो पिरो भएँ।

ऊ केही बोलिन आफ्नो  दाँतले तल्लो ओठ थोरै टोकेर मुस्कुराई।

‘कस्ती राम्री,’ म हेरेको हेरै भएँ। आफूलाई सम्हालेँ। ऊ सिम्पल तर सुन्दरी लाग्यो। अनि अझै सिम्पल केटीको डिम्पलले झनै भुतुक्कै पार्‍यो।

त्यसपछि हामी बिच केही अरू कुराकानी भयो, ‘आजको कफी मेरो तर्फबाट है,’ भनेर कफी मगाएँ।

त्यसको केही दिन पछाडि देशैभर लकडाउन भयो। हामी बिच नियमित जसो मेसेन्जर र ह्वाट्स्यपमा कुराकानी हुने गर्थ्यो।

आफूँ भित्र ऊ प्रति के थियो थाहा छैन तर कुनै लतको सिकार भएको जस्तो लाग्थ्यो।

ऊ सँग बोलिरहुँ, भेटीरहूँ भैरहन्थ्यो। यसले भविष्यमा के कस्तो परिणाम ल्याउने वाला छ भन्ने चिज त अनिश्चित प्रायः थियो।

उसले मलाई कुन रूपमा हेरिरहेकी छे भन्ने कुरामा पनि म अन्योल नै थिएँ। जे पनि होस यथार्थमा रमाउदै म अद्भुत महसुस गर्थे।

***

अझै पनि उसको फोन अफ नै छ। म छटपटाउँदै कोठा भित्र यता उता गरिरहेको छु। किन यस्तो हुँदैछ मलाई? जाबो केही समय अगाडि चिनजान भएकी को हो। को केटीलाई लिएर किन म यसरी आत्तिरहेको छु?

अनी किन ऊ बारे यत्रो सोचाईको खाल्डो खन्दैछु आफ्नै मनमा? बुझ्दिनँ म आफ्नै हालतलाई। उता ऊ फोन अफ गरेर आफ्नो प्रेमीसित पो घुमिरहेकी छे कि कतै? म त उसको को न हो र।

मनै त हो सोचीहाल्छ, ‘प्रेमी छ नै भन्ने कुरामा के प्रमाण छ र? फेरि हुन पनि त सक्छ।’

सोच्दा सोच्दै म घरबाट बाहिर निस्किएँ र उसको कोठातिर लाग्न थालेँ। एकपल्ट उसले टाढैबाट मलाई ‘ई यही गल्ली भित्र छ रूम,’ भनेर भनेकी थिई।

म त्यही गल्लीतिर बढे।

बाटोमा केही बच्चाहरू फुटबल खेल्दै थिए। लकडाउन भए पनि भित्री गल्लीहरूमा चहलपहल ठिकठाक नै थियो।

म सोलार हिटर लेखेको भित्ता निर पुगेर टक्क अडिएँ। मेरो सामुन्ने उही गल्ली थियो, जहा उसको कोठा थियो।

‘जाम कि नजाम्?’ एकै क्षण सोचमग्न भएँ। बिस्तारै म गल्ली भित्र पुगेँ। "गल्ली पो थाहा भयो तर घर? कुन हो हो, कुन हो नि?"

यत्रो वस्तीमा कहाँ खोजूँ उसलाई। सबै घरहरू बन्द थिए। ‘भित्रै होलान् मान्छेहरू।’

उसलाई भेटाउने कुनै उपाय न भएपछि म लुरू लुरू गल्लीबाट सडकतिर आइपुगेँ।

दायाँतिर मोडिएर सडक पेटीमा हिँड्दै टियु गेटसम्म पुगेँ। बाटो सुनसान थियो केवल चराहरूको चिर्बिरले सन्नाटालाई चिर्ने कोशिसमा थियो।

केही दिन अगाडिको कुरो हो, ‘मलाई आज चटपट खान मन छ।’ उसले च्याटमा भनेकी थिई। ‘घरमै बनाउन,’ मैले भन्दा उसले ‘अल्छी लागेको छ, तपाईं सँग खान मन छ मलाई।’ उसले यसरी जिद्दी गरेपछि, हामी चटपट पानी-पुरी खाने भन्दै टि यु गेटसम्म बेपर्वाह हिड्दै आएका थियौँ। लकडाउनमा चटपट पाउनु मुस्किल थियो।

कुमारि क्लबबाट चटपटको स्टल खोज्दै टियुसम्म पनि पुग्दा भेट्टिएको थिएन।

‘बिना काम बाहिर किन निस्किएको?’ टि यु गेटमा तैनाथ पुलिसले हामी दुई लाई हपारेको थियो, हामी छुट्टिएर आ-आफ्नो कोठा तिर लागेका थियौं।

यसरी ऊ सँग बसेर चटपट खाने इच्छा पनि तेस्सै टरेर गएको थियो।

***

‘के लकडाउनकै समस्याले गर्दा ऊ वेपत्ता भएकी हो त?’ मैले सडकमा उभिएर सोच्न थालेँ।

फोनमा आफैं हात पुग्यो र उसलाई कल गरेँ। तर उसको फोन अझै अफ थियो।

कोरोनाबाट मानिस सङ्क्रमित हुन्छ, गम्भीर बिरामीको मृत्यु पनि हुन्छ। यो त मलाई थाहा थियो तर कोरोनाकै कारण कोही वेपत्ता होला र हराउला भन्ने चाहि लाग्दैनथ्यो।

भेट हुनकै लागि छुट्टिनु पर्छ र छुट्टिनुकै लागि भेटिनुपर्छ। आज मलाई यस्तै महसुस भएको छ। मनमा अझै आसाको त्यान्द्रो जिवितै छ। पक्का एक दिन त भेट हुन्छ ऊ सँग।

***

ठ्याक्कै १० दिनपछि लकडाउन केही खुकुलो भयो। बितेको १० दिनमा के भयो के भएन भनेर सोच्न चाहान्न म।

हराएकी ऊ अझै भेट्टिएकी थिइन। बिस्तारै मैले खोज्ने कार्यमा पनि विश्राम लिएको थिएँ। पक्कै कोही आफन्त या साथीकोमा गएकी हुन सक्छे, यस्तै लाग्थ्यो। ठूलै बाढी पहिरो गएको जस्तो किन गर्नुपर्‍यो? म सँग बोल्ने जरूरत सायद उसले ठानिन अनि सम्पर्क बिहिन भई।

जानिहरू जान्छन आउनेहरू आउछन, समयले कसैलाई पर्खदैन। तर जानीहरूले मनमा एउटा खत छाडेर जादारहेछन जुन खत मेटिन निक्कै गारो हुनेरहेछ। मनको दुखाइ कुनै मलम पट्टीले निको गर्दैन र जिन्दगीमा यस्तै पिडाहरूलाई बोकेर अगाडी बढ्नु पर्ने रहेछ। मान्छे सास बिना एक पल पनि बाँच्दैन तर सास फेर्दा फेर्दै जव आसा नामक तत्वको अन्त्य हुन्छ नि, त्यो बेला बाचेर पनि मरितुल्य हुने रहेछ। कतै लाग्छ मेरो अवचेतन मनमा ऊप्रति एउटा आसाको बोट उम्रिएछ र त्यही आसामा आफ्नै मनको आदेशमा दिनहुँ विश्वासको जल चढाउँदै गएछु। कालन्तरमा त्यो बोट हर्लक्क ठूलो हुँदै गयो, प्रेमिल फूलहरू फुल्दै गए। अनि आज अचानक आसा मर्दा बोटको हत्या गर्नु कती पीडादायक हुने रहेछ। ठ्याक्कै, गर्वमा भएको भ्रूणको हत्या गरेको जस्तो।

मन भुलाउन घर भित्रै बसेर केही सिरिजहरू सकाएँ, केही किताब पढेँ र फाट्ट-फूट्ट कविताहरू कोरेँ। यसरी आफूलाई व्यस्त राखेको थिएँ।

***

आजबाट अफिस खुलेको छ, ब्रेकफास्ट गरेर म घरबाट बाहिर निस्कन्छु। काठमाडौंमा चहलपहल बढ्दो छ, जोर-बिजोर प्रणालीमा सवारीसाधनहरू चलेका छन्।

बाइक स्टार्ट गरेपछि, छुट्टै आनन्दको महसुस भयो। बिहानको चिसो बतासले मनको ताप पनि चिस्सिएको महसुस गरेँ। ‘खै जान्दिनँ कुन तत्त्व छ यो बतासमा पनि?’

 एउटा लामो अन्तरालपछिको राइड थियो मेरो, वर्षौँ अगाडि नया बाइक किन्दा जुन उमङ्ग थियो आज मनमा त्यस्तै खुसी फर्किएर आएको जस्तो भयो।

दरबारमार्ग तिर पुग्दै गर्दा, बाटो छेउमा ढकमक्क जाकारान्डा फूलेका रहेछन्। निकै मनमोहक दृश्य,  सडक पेटीमा निला फूलहरू खसेका थिए।

१९२० तिर वीर शमशेरको परिवारले दार्जिलिङबाट त्यस फूललाई ल्याएर होटल याक एन्ड यती नजिकै रोपेका रहेछन्। धेरै मानिसहरू अहिले पनि शिरिस र जाकारान्डा फूल बिचको अन्तर थाहा नपाएर झुक्किने गर्छन्।

अगाडि बढ्दै गर्दा मोबाइल भाइब्रेट गर्न थाल्यो। ‘कसले गर्छ फोन यस बेला?’ मलाई बाइक चलाएको बेला फोन रिसिब गर्न मन पर्दैन।

फेरि दोस्रो पटक पनि फोन बज्यो। बेवास्था गर्दै म अफिस तिर मोडिएँ।

गेट भित्र पुगेर पार्किङमा बाइक अड्याएको मात्र के थिएँ तेस्रो पटक फोन बज्यो। हेल्मेट पनि न ननिकालीकन फोन चेक गरेँ। कुनै अन्नन नम्बरबाट कल आएको थियो। कहाँबाट आयो मैले चाल पाइनँ। तर भ्याली बाहिरको नम्बर थियो त्यो।

‘हलो’ मैले कान नजिकै फोन पुर्‍याएँ।

उताबाट कुनै आवाज सुनिएन। मैले फेरि ‘हलो’ भने तर कोही बोलिरहेको थिएनँ। ‘को हो यो?’ म झोक्किएँ। फोन ऊठिरहेकै थियो तर आवाज थिएन। फेरि कान नजिक फोन पुर्‍याउँदा पो बल्ल चाल पाएँ, हेल्मेट लगाएर पो बोल्दै रहेछु। ‘तैट म उल्लु’ खोइ के भइराको छ अचेल मलाई। आफूँ देखेर हास् उठ्यो। मैले हेल्मेट खोलेर फोन चेक गर्दा कल डिस्कनेक्ट भइसकेको रहेछ।

त्यसको केही सेकेन्डमै सोही नम्बरबाट कल आयो। मैले रिसिभ गरेँ।

उताबाट कुनै युवतीको आवाज थियो। ‘कता हो वेपत्ता मान्छे?’ जिस्किएको भावभङ्गीमा कोही बोल्दै थियो।

मैले मान्छे ठम्याउन सकिनँ, फेरि केटी जिस्किन थालि।‘ए! अब त भुल्न पनि थालिएछ नि है?’ केहीबेर घोरिएपछि मैले बल्लतल्ल उसको आवाज पहिचान गरेँ।

फोन समाएको बायाँ हातमा सानो कम्पन भयो हात थरथराउन थाल्यो, औँलाहरूबाट पसिना छुट्यो।

‘कैयन दिन भैसक्यो, यही फोनको इन्तजारमा त थिएँ म।’ ‘सरी है। हेर्नु न मेरो फोन बाथरुममा खसेर काम नलाग्ने भएको थियो। हजूरलाई केही खबर गर्नेसम्म मौका मिलेन।’ ऊ अगाडि बोल्दै गई, ‘घरबाट बोलाउनु भाको थियो, भोलिपल्ट म र मेरो साथी मेडिकल सामान बोकेको गाडीमा धनगडी लाग्यौँ। घर पुगेको पर्सीपल्ट भाइको ल्यापटपबाट हजूरलाई फेसबुकमा मेसेज पठाएको थिएँ तर हजूरले मेसेज हेर्नु भएन’, उसले एकै सासमा बोलेर सकी। म भने मौन नै थिएँ। मन त थियो ‘तिमीले पागल बनाएर गयौ’ भन्न तर केही बोल्न जरुरी ठानिनँ।

‘हलो’ उसले उताबाट भनी, लौ म त टोलाएर बसेछु। ‘हजूर।’ मुखबाट दबिएको स्वरमा एउटा शब्द ओर्लियो।

‘के भो, हजूर बिरामी त हुनु हुन्न?’ उ आत्तिए जसरी बोली। ‘अँ, तिमीले बिरामी बनाएर गयौ,’ मैले भने।

‘जिस्किने बानी अझै गएन है?’ उसले हाँस्दै भनि। तर म जिस्केको थिइनँ उसलाई के थाहा र मेरा दिनहरू कसरी गुज्रिएका थिए भनेर।

‘रूनु पो पर्ने नि है? म त अझै जिस्किराको छु।’ मैले मनको खास  हाल बताउने चेस्टा गरेँ तर उसले बुझिनँ।

‘ल अब निको हुन्छ हजूरलाई,  म  एउटा खुसीको खबर सुनाउँछु।’ ‘हँ! के भन्दैछे यो केटी।’ मेरो ढुक्ढुकी बढ्न थाल्यो। ‘कस्तो खुसीको खबर?’ मैले प्रश्न गरेँ, ‘एनी गेसेस!’ ऊ अझै चुलबुले बच्चा जस्तो बन्दै थिई।

‘नो आइडिया’ मैले हात छातिमा पुर्‍याएँ, धड्कन उसरिनै बढ्दो थियो।

"अँ!..... ऊ केही बेर सोचे जस्तो गरी र भनि, "उम्, खासमा नि।"

टुई टुई टुई! फोन काट्टियो। "ह्यात्तेरी।" फोन पनि यस्तै बेला काटिन्छ मेरै कल आउँछ र डिस्कनेक्ट गरौँला भनेर बस्या त छैनन् टेलिकमका कर्मचारीहरू? "

मैले कल ब्याक गरेँ तर उता सम्पर्क हुन सकेन। त्यसपछी लरखराउँदै म अफिस भित्र पुगेँ।

***

"सरले मेरो मेसेजको रिप्लाई दिनु भएन नि।" मेरो क्याबिनमा केही फाइलहरू बोकेर आएको स्टाफले गुनासो गर्‍यो।

"मेसेन्जरमा मैले क्लाइन्टहरूका केही विवरण पठाएको थिएँ हजूरलाई।" उसले फाइलहरू मेरो टेबलमा राख्दै भन्यो। "

होर?" म अच्चम्ममा परेँ र सोच्न थालेँ। जुन दिनबाट ऊ सम्पर्कमा आइकी थिइनँ त्यो दिनबाटै मैले फोनमा मेसेन्जर फेसबुक अनइन्स्टल गरेको रहेछु। अघि पनि फोनमा उसले मेसेजको रिप्लाई आएको थिएन भनेर भनेकी थिई।

कुर्सीमा बसे र कम्प्युटरमा फेसबुक लग् इन गरेँ। धेरै मेसेजहरूको ओइरो लागेको थियो।

सुरुमै उसको इन्बक्समा गएर मेसेज हेरेँ। त्यहाँ फोनमा उसले भनेकै कुराहरू थिए।

प्रोफाइल अपडेट भएछ, केटीले नयाँ फोटो राख्न भ्याइसकेकि रहिछे। उसको फोटो एल्बम हेर्दै गएँ सबै फ्यामेली फोटोहरू थिए।

***

लकडाउन खुलेको छ सँगै मनमा छाएका दुःखका बादलहरू आज कतै बिलाएका छन्।  मनका खुसीहरूलाई  बादलहरूले छोपिदिएका थिए, त्यी बादलहरूलाई चिर्दै घाम उदाएको छ। घामका किरण उनकै यादहरू हुन् भन्ने महसुस भयो।

आखिर किन गएको मान्छे आउँदा मन यती धेरै खुसी बन्छ? द्वन्द्वकालमा हराएको छोरो वर्षौँपछि आफ्नो घर फर्कदा जसरी आँमाको आँखामा खुसी छचल्किन्छ त्यसरीनै खुसी छ मेरो मन आज।

‘अनि उसले भन्न खोजेको खुसीको खबर चाहि के होला?’ सोचाईका छालहरू आइरहेछन गैरहेछन।

काममा ध्यान दिन सकेको छैन, हातहरू खाली मोबाइलमा पुग्छन्। ‘उसको कल आउन पर्ने यती बेला त, किन आएन। कहिले गर्छे होला?’ अनि फेरि लाग्छ, के म उसको खबर सुनेर साँच्चै खुसी हुन्छु त?

बिहानको उसको त्यो स्फूर्त आवाजबाट म के बुझौँ? छटपटीको रापमा जलिरहेको मेरो मनमा उसले खुसीले भरिएका आइसका चिसा डल्ला राखिदिएर गई। आइस पग्लिए पनि मनको ताप चिसिएकोछ र आजसम्म महसुस नगरेको सितल्ता पाएको छु।

यस्तै गन्थन मन्थन गर्दा गर्दै दिउँसोको ३ बज्यो। म अफिसबाट निस्किएँ।

बाहिर मुसलधारे पानी पर्दैरहेछ। रेनकोट थिएन म सँग। अब भिज्नुको विकल्प भएन।

बाइक स्टार्ट गरेँ। पानीका थोपाहरूको हिर्काई सहँदै घर सम्म पुगे। आज पानीमा भिज्न पनि बडो मजा भयो। यसरी म कहिल्यै पानीमा रुझेको थिइनँ।

***

घर पुगेँ भिजेका लुगाहरूलाई बाहिर झुन्डाएँ। केही खान मन थिएन, खासमा त भोकनै थिएन।

उसलाई बिहानको नम्बरमा कल गरेँ। दोस्रो घन्टीमै उठ्यो। (के गरौँ? खुसीले बुरुक्क उफ्रौँ?)

‘किन हो के यस्तो लुकामारी?’ मैले प्रश्नको हमला सुरु गरिहालेँ।

‘जति लुके नि हजूर भेट्टाइहाल्नु हुन्छ, म हजूर सित लुकिरहन नसक्ने भएँ।’

ऊ सँग कुरो गर्न कस्ले सकोस्।

"तेसो भए आत्म समर्पण गरे भै गो नि।" मैले भने।

"तर पनि भाग्न सकिन्छ कि भन्ने झिनो आस हुने रहेछ।" हामी दुबै हास्यौँ।

"कसैले भगाउँछ भने आफैं भागिरहन पर्दैन होला नि?" मैले मन चोर्ने हिसाबले भने।

"अँ! अब भाग्दिनँ पनि।" ऊ बिस्तारै बोली।

"तेसो भए भगाउने मान्छे भेटियो?" "हाहा! खै के भनौं म।" ऊ हाँसी मात्र रहि।

"हजूरको अफिस सकियो त?" "सकिएको थिएन, सक्काएर आएँ।" मैले भने।

"लौ! किन नि?" "तिम्रो खुसीको खबर सुन्न आतुर छु त्यसैले।" मैले अलिक बढाइचढाइ बोलेँ।

"मेरो खुसीको खबर सुन्न हजूरले अफिसनै छोड्नु भएछ, ल अब एउटा काम गर्दिनुपर्‍यो।" उसले कुरालाई लम्मेतान पारी।"

"कुन कुरा? तिमी भन मात्र।" म गर्वको साथ बोल्दै थिएँ।

"हजूरलाई इन्भीटेसनछ।" म कौतुहल भएँ। "कस्तो इन्भीटेसन?"

मेरो कुरो फुत्किन नपाउँदै थोरै लजाएको भावमा ऊ बोली।

"यही २० गते मेरो बिहे हुदैछ। हजूर आउन पर्यो। म धनगडीमा भाइलाई लिन........"

उसले यस्तै के के बोल्दै थिइ बाँकी कुरा सुन्ने सामर्थ्य म मा थिएन।

अघि भरखरको उसको मह जत्तीकै गुलियो आवाज एकाएक निमको पत्ता चपाए जस्तो तितो, टर्रो महसुस भयो।

ऊ उता खै के बोल्दै थिइ तर मेरो कान नजिकै कसैले बम पड्काएको भान भयो।

सिङ्गो शरीरमा यस्तो झड्का लाग्यो, मानौँ मैले नाङ्गो तारमा हात पुर्‍याएकोछु।

झ्यालनिर म उभिएको थिएँ मेरो शरीरको भार खुट्टाहरूले थेग्न सकेनन्।

म ढुन्मुनिदै भुइमा थच्चिएँ।

त्यसपछि थाहै नपाईकन एकोहोरो "हलो, हलो" भन्दै कराउन थालेँ। उसले के भनी सुनेको छैन, पागल जसरी "हलो हलो" भनेर फोन काटिदिएँ।

मुटुमा फुकाउँनै नसकिने गाठो पर्‍यो। सास फेर्न पनि गारो भयो। मुख त अघिनै मरूभूमी जस्तो सुख्खा भैसकेको थियो। मलाई थुक निल्न पनि सकस भएर आयो।

***

शुक्रबारको दिन थियो अफिसबाट फर्केर घर आइपुगेँ।

घडीमा ७ बज्दै थियो। हातमा बियरको ग्लास लिएर म फेसबुक स्क्रोल गर्दै थिएँ।

उसलाई ट्याग गरेर कसैले वाल भरी फोटो राखेको रैछ। क्याप्सन थीयो "ह्याप्पी म्यारिड लाइफ।"

मैले सबै फोटोहरू हेर्दै गएँ। रातो सारी, बिहेको त्यो मेकअप, त्यो घुम्टो सब सब उसलाई खुब सुहाएको थियो।

मेरा आँखाहरू धमिला हुँदै गए र उसको फोटो पनि धमिलो पानीमा देखिएको आकृति  जस्तै बनेर बिस्तारै ओझेल पर्‍यो।

उसको बिहे देख्नु रैछ र त समयले मलाई यसरी झुलाइरहेको थियो।

आजसम्म म आफ्नै मनोदसाबाट गुज्रिएर बाँचिरहेको रहेछु र कल्पिएछु अनेकौँ आसाहरू जसबाट मैले मानसिक असान्ती बाहेक केही पाइनँ।

मरिसकेको आसाको बोटमा फेरि विश्वासको जल चढाएर बोटलाई जिवनदान दिनु नै मेरो मुर्खता रहेछ।

ऊ आज अर्कै कि भएकी छे, गएकी छे मेरो जिवनबाट। होइन मेरो जिवनमा नभएको चिज कसरी जान सक्छ र?

उ गएकी होइन उ त उस्तै नै छे बरू म आफैं उसको मनमा के छ चालनै नपाईकन प्रवेश गर्ने दुसाहस गरेछु।

बुनेछु अनगिन्ती प्रेमका मालाहरू र लगाएछू आफ्नै गलामा, उसले नै आफ्नै हातले लगाइदिएको महसुस गरेर।

उ सँग एकतर्फी प्रेम भएको पक्का हो,  केही भएन होला तर सम्बन्धको  मसिनो धागोमा बाधिएको जरुर हो।

पुग्न त मलाई उसको दिलसम्मै पुग्ने मन थियो, तर हाम्रो सम्बन्धको भर्‍याङ कमजोर रहेछ।

©Madhusudan ghimire

प्रकाशित मिति: : 2020-07-18 10:46:40

प्रतिकृया दिनुहोस्