जेठाजु भान्सामा देख्दु जेठानी छुई छन् कि
कोइ दुखारी कोइ सुखारी भगवान दुई छन् कि
गाउँघरमा निकै अघिदेखि सुनिँदै आएका हुन् डेउडा गीतका यी पंक्तिहरू। महिनावारी भएकी महिलालाई भान्सामा त के घरभित्रै जान रोक छ अधिकांश ठाउँमा।
यहाँ दोस्रो पंक्तिले गजबको प्रश्न तेर्स्याइएको छ– कोही दुःखी छन्। कोही सुखी देखिन्छन्। कतै भगवान पनि दुई त छैनन्? यो एक प्रकारको गहिरो व्यङ्ग्य पनि हो। भगवान भरोसामा बाँचेकाहरूले तिनै देवी देउताप्रति जनाएको असन्तुष्टि पनि हो।
सदियौँदेखि महिलाहरूका पीडा काव्यात्मक शैलीमा उजागार भएकै छन्। बेलाबखत शालिन ढंगले ननिस्केका हैनन्, बिद्रोहका स्वरहरू पनि। तर ती आएनन् सुनुवाइमा। उखेलिएनन् धार्मिक कट्टरता र अन्धविश्वासका खम्बाहरू।
मध्य तथा सुदूरपश्चिमका अधिकांश महिलाको जिन्दगीका पल्लाहरू दुःखको भूमरीभित्र लपेटिएका देखिन्छन्। त्यहाँ एउटा मात्रै समस्या छैन। दर्जनौँ समस्याले लपेटिएका छन्। कतिपय बस्तीमा पुरानै सोच मौलाएको छ।
छाउगोठमा मृत्यु भएकी महिलाको दर्दनाक समाचार पत्रपत्रिकामा कैयौँपल्ट प्रकाशित भइसके। एनजीओ, आइएनजीओको वर्चश्व रहेको मुलुकमा तिनै संस्थाका प्रतिनिधि पुग्छन्, समाधान गर्ने नारा लिएर। राज्य चलाउनेहरूले पढ्छन् वा पढ्दैनन्, सुन्छन् वा सुन्दैनन्, देख्छन् कि देख्दैनन्। विकृति विडम्बना र अन्धविश्वासका घाउ ठूल्ठूला छन् गाउँघरतिर।
घाउमा निको हुने मलम लिएर जान्छन् कतिपय संघसंस्थाहरू। घाउ निको हुनैलाग्दा फेरि कोट्टयाउन पनि लगाउँछन् त्यही घाउ। सबैको नारा उही हुन्छ– छाउगोठ भत्काउनुपर्छ। एकपटक पुग्छन् त्यो ठाउँमा र भत्काउन लगाउँछन् दुई/चार वटा छाउगोठ पनि।
तर भत्किँदैनन् समाजको सोचमा उभिएका छाउगोठहरू। ‘मानिस बस्ने घरको माथिल्लो तलामा सुत्दा के पो हुने हो?’ भन्ने खालको त्रास बोकिरहेकै छन् दूरदराजका अधिकांश महिलाहरू। यहाँ कस्तो खाले मनोविज्ञानले काम गरिरहेको छ, प्रष्टै छ।
सुदूरपश्चिम अडेको देखिन्छ धार्मिक र सांस्कृतिक मान्यतामा। देवताहरूको देश भनेर भने विगतमा। प्राचीन डोटी राज्यको पूर्वमा कर्णाली नदी, उत्तरमा सिंजाली सीमाना, दक्षिणमा तराई र पश्चिममा गडवाल थियो। त्यही डोटी राज्य अर्थात् त्यस क्षेत्रलाई पूर्वजले भनिदिए देवाटवी। देवाटवीको अर्थ हुन्छ, देवताहरूको वासस्थान। देवाटवी अपभ्रङ्सित भएर डोटी हुन गएको मान्यता छ, एकथरि विज्ञहरूको।
त्यस क्षेत्रमा छ्यापछ्याप्ती भेटिन्छन् मठ मन्दिरहरू। तिनै मठ मन्दिरका धामी झाँक्री र पुजारीहरू थिए, विगतमा आशा र भरोशाका केन्द्र। तिनै बने विश्वासका थुङ्गा पनि। अहिले पनि त्यो आस्था र भरोसाको डोरी दुब्लाउन सकेको छैन। आजका दिनमा पनि चेतनाको हावाले छुन नसकेका विकट बस्तीका मानिसहरू पाती चढाउँदै हात जोड्दै भाकल गर्दै बिताइरहेका छन् जिन्दगी।
कहावत पनि बनाइदिए– माल(मधेश/तराई) खानू जुझेर, पाहाड खानू पुजेर (तराईमा बाझेर निडर बनेर बस्न सकेपछि चल्छ जिन्दगी। पाहाडमा पाठपूजा गरेर शक्तिपिठको आराधना गरेर चलाउनुपर्छ जिन्दगी )। यस्ता विभिन्न कहावतहरूले माझ्दै विश्वस्त तुल्याइरहे अधिकांश मनलाई। अनि हरेक कुरा लगेर जोड्न थाले देउतामा।
कथा भन्छ– जिससको मृत्यु भएको केही समयपछि देखा पर्छन् उनी पृथ्वीमा। ठुलो भीड जम्मा हुन्छ। पादरीकहाँ खबर पुग्छ उस्तै वर्ण, उस्तै कद, उस्तै बोली। जिसस फेरि आएछन्। हत्तनपत्त छेउमा पुगेर पादरी सोध्छन् तपाईं को? उत्तर आउँछ, ‘म जिसस क्राइष्ट। चिनेनौ?’
‘कहाँको जिसस। जिसस मरिसके। यसलाई बाँधेर कोठामा थुनिदेऊ’, पादरीले आदेश दिन्छन्। जिससका हातखुट्टा बाँधेर राखिन्छ। विस्तारै मान्छेहरू आ-आफ्नो बाटो लाग्छन्। सबैजना गैसकेपछि आउँछन् पादरी। उक्त व्यक्तिका हातखुट्टा खोलिदिन्छन्। खुट्टामा टाउको राखेर ढोग्छन्।
जिसस भन्छन्, ‘बल्ल चिन्यौ?’
‘चिन्न त अघि नै चिनेको थिएँ, तर के गरुँ। हजुर स्वर्गमै बस्नोस्। यहाँ नआइदिनोस्। हजुर स्वयम् यहाँ आइदिएपछि मेरो के हुन्छ। मैले कहाँ जाने?’
समाजका तिनै पादरी, पण्डित, धामी, झाँक्री, पुजारी, जमिन्दारलगायतका हैकम चलाउन खोज्ने पुरुषहरूले बनाए विभिन्न नियमहरू। भनिदिए- यसो गर्दा यसो हुन्छ।
महिनावारी भएकी महिलालाई घरभित्र छिर्न दिइएन। गोरस खान बन्देज गरियो। सजिलैसँग भनिदिए ‘त्यस्तो बेलामा खानु हुन्न। देउता रिसाउँछन्।’
कतैकतै त त्यो समयमा सूर्यलाई समेत हेर्नुहुन्न भनिदिए। महिलाबिना घर चल्दैन भन्ने थाहा छ सबैलाई। यो हिसाबले घरको धुरी भन्ने बिम्बले स्वयम् महिलालाई बुझाउनुपर्ने हो। तर त्यो धुरी सदैव पुरुष नै ठानियो। र त सजिलै भनिदिए, घरको धूरीमा दृष्टि पुर्याउनुहुन्न। मन्दिरको मास्तिरबाट हिँड्नु हुन्न। मुन्तिरबाट हिँड्नु पर्दछ। यी सारा नियम उत्पादन गरिएका हुन्, समाजका ठालु र रवैयाका कर्पच बोकेका पुरुषहरूबाटै। हरेक कुरा देउतासँग जोडेर डर देखाइयो। जसको प्रत्यक्ष मारमा परे दलित र महिलाहरू। दलित र महिलाका आ-आफ्नै खाले पीडा छन्।
महिनावारी भएकी महिलालाई छुई भएकी वा पर सरेकी भनिन्छ। तिनीहरूले पुरुष वर्गलाई छुनु हुँदैन। तर राति चोरेर तिनै केटीहरूसँग डेउडा खेल्न पुगेकै थिए युवाहरू। बाहिर सजिलैसँग भनिदिए, फलका रुख छुँदा फलफूल कुहिएर झर्छन्। उनीहरूलाई खबरदारी गरियो- करेसाबारीमा काँक्रा, फर्सी, खुर्सानीलगायतका लहरा, बोट आदि छोयो भने चिचिलामै कुहिन्छन्, फलहरू नछुनु भनेर। तर भनिएन त्यतिबेला धान, कोदो, मकैजस्ता बाली पनि छुनु हुँदैन भनेर। किनकी विगतमा तरकारी खेतीमा त्यति जोड दिइएको थिएन। करेसाबारीमा खासै काम हुँदैन थियो। तर धान, मकै, कोदो, गहुँ, तोरी खेती धेरै नै गरिने र काम बढी हुने हुँदा कुनै नियम बनेन्।
त्यहाँका महिलाहरूले भोगेको पीडा डरलाग्दो छ। सधैँ बाङ्गै बन्यो तिनीहरूको जिन्दगीको निदाल पनि। समाजका ठूलाबडा भनाउँदादेखि देउतासम्मको डरत्रास र त्यही अन्धविश्वासले गर्दा नै ओढ्न बाध्य भइरहे पीडाका च्यादरहरू। अशिक्षितभन्दा बढी नै रुढीग्रस्त र ढोंगी देखिन्छन् पढेलेखेकाहरू।
धर्मका कट्टरपन्थिहरू भन्ने गर्दछन्, देउताले सबैलाई न्याय गर्छन्। सबैको कल्याण गर्छन्। उनका लागि सबै सन्तान सरह छन्। एकातिर यी उद्गारहरू सुनिन्छन् भने अर्कोतिर दुःख, कष्ट पुग्ने हरेक कुरामा जोडिन पुग्छन् तिनै देवता। कति सजिलैसँग भन्न सिकाइ दिए– देउता रिस्याउन्या हुन्।
आजका मितिसम्म खाली महिनावारी मात्रै देखे अधिकांशले। यसका अलावा अरु पनि थुप्रै पीडा सहेर जिन्दगी घिसारी रहेका छन् तिनीहरूले। उसो त छोरीलाई सन्तानका रुपमा गणना नै गरिँदैन। कसैले सन्तान कति छन् भन्यो भने अधिकांशले छोराको संख्या मात्रै बताउँछन्। छोरी मात्र हुनेहरू उदाश मुद्रामा भनिदिन्छन्– सन्तान नइथिन्।
छोराको चाहनामा बहुविवाह गर्नेको संख्या पनि उत्तिकै छ। छोरा पाइनस् भनेर श्रीमतीलाई रातदिन कुट्नेहरू पनि नभेटिने हैनन्। खेतबारीमा महिलाले हलो बोकेर लगिदिएपछि गोरु जोत्न तयार हुने पुरुषहरू पनि देखिन्छन्। जाँड खाएर घरमा आई यातना दिनेहरूको त कुरै भएन, कतिछन् कति।
महिलालाई आफूमाथिको अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउन गाह्रो छ। माइतीले भनिदिन्छन्, यता आउने हैन। आफ्नो घर खान सिक्नुपर्छ। जग्गा जमिन श्री-सम्पत्ति जायजेथा सबै लोग्नेसँग मात्रै हुन्छ। कानुनी बाटोमा हिँड्ने सोच बनाउँदा पनि प्रश्न उब्जिन्छ, भोलि कहाँ जाने? उल्टै अरु लाञ्छना लगाउन बेर लाउँदैनन्।
चार/छ महिना भारतमा दरवानी गर्न गएको लोग्नेकै बाटो हेर्नुपर्छ मिठो मसिनो खान र राम्रो लगाउन। ती महिलाहरूले आफूमाथि भएको अन्याय विरुद्ध मुद्दा दायर गरेर जितिहाले छन् भने पनि कसरी गुजार्छिन् त्यसपछिका दिनहरू।
त्यो त्यही समाज हो, जहाँ व्यक्तिगत रुपमा पुरुषलाई असहज भएका पाटाहरू सजिलै परिवर्तित भए। जस्तै उहिले ब्राह्मण समुदायमा विवाहित महिलाले धोती फेरेर भान्सामा खानुपर्थ्याे। भान्साको आगो ननिभ्दै खाइसक्नु पर्थ्याे। दिउँसो भोक लाग्दा आश्विन, कार्तिकतिर चिउरा, सिरौँला चपाउँथे भने अरुबेला मुखमा चामलको फाँको हालेर काममा हिँड्नुपर्थ्याे।
सबै सिजनमा फलफूल पाइने कुरै भएन। कुनै समयमा पाइहाले पनि केटाकेटी, बुढापाकालाई बाँड्दै गर्दा आफूले त चाख्ने मात्र न हो। यसरी बिहान खाना खाएपछि एकै चोटी बेलुका खानुपर्थ्याे। त्यो चलन विस्तार विस्तारै सिद्धिँदै गयो। यसमा परिवर्तनकारी भूमिका पनि पुरुषकै हो। पुरुषकै आडमा महिला पछिल्लो समय लुगा नफेरिकन भान्सा बाहिरै खाना खान थाले। त्यो हुनुको पछाडिको कारण कुनै उदार र क्रान्तिकारी सोच हो भन्ने पक्षमा म छैन। त्यो नयाँ नयाँ प्रेमको स्विकारोक्ति हो। पुरुषले घरबाहिर जाँदा आफूसँगै लग्नुपर्दा बेहाेर्नुपर्ने असहजताको कारण पनि हो।
यहाँनेर प्रश्न उब्जिन सक्छ, त्यो प्रेमको स्विकारोक्ति पहिलेका पुरुष र महिलामा किन लागू हुन सकेन त? त्यतिबेला सानै उमेरमा विवाह गरिन्थ्यो। खेतीपातीमै अर्थात् आमाबुवाकै कमाइमा निर्भर रहनु पर्दथ्यो। अरुको सामु श्रीमानश्रीमतीको बोलचाल नै हुँदैनथ्यो। दुई जना सँगै जाने भन्ने त कुरै भएन। राति सँगै सुत्दासमेत गाइँगुइँ गरेको अरुले सुन्लान् कि भनेर गफगाफ गर्न डराउँथे। घरमा बढी हैकम सासूससुराको चल्थ्यो। आफ्नै बच्चालाई समात्न पनि कोही नभएको मौका छोप्नु पर्दथ्यो। आमाबुवा अर्थात् आफूभन्दा ठुलाबडाको सामु सन्तानलाई बोक्न सक्दैन थिए। बोकीहाल्यो भने सिधै भनिदिन्थे, कसो उत्ताउलो रैछ।
दुःख र पीडाको पराकाष्ठ नाघेपछि हराउँदै जान्छ डर। बढ्दै जान्छ साहस। समयले अराजक बन्नुपर्ने परिस्थिति पनि ल्याउँछ। तर त्यो समय कुर्न थाल्ने हो भने त्यहाँसम्म जवानीमै धर्तीबाट बिदा भइसकेका हुनेछन् कैयौँ युवतीतीहरू। परिवर्तन ल्याउन छाउगोठ भत्काएर सजिलै समस्याको समाधान हुनेवाला छैन।
अझै पुरुषकै कमाइमा निर्भर भएर कुवाको भ्यागुतोझैँ जिन्दगी जिउनु परिरहेको छ त्यस क्षेत्रका महिलाले। यसको लागि हरेक महिलालाई अनिवार्य रुपले शिक्षित तुल्याउनेतर्फ राज्यले कदम चाल्नुपर्छ। उनीहरूलाई आयआर्जनको मार्ग प्रशस्त गरिदिनुपर्छ। अनिवार्य रुपमा शिक्षा र रोजगारीको गोरेटो तय गर्नुपर्ने देखिन्छ। तब मात्रै तिनमा साहसको बीज पलाउने छ। नत्र पुरुषवादी, अन्धविश्वासको जालोमा जेलिएको समाजमा दुर्गुम बस्तीका कथा, व्यथाहरू त्यति छिट्टै, सजिलै कम होलान् भन्न सकिन्न।