रवीन्द्र मिश्र भन्छन्– सुर्यराज र मुमारामको बहिर्गमन पार्टीका लागि खेदजनक

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रवक्ता डा. सूर्यराज आचार्य र नेता मुमाराम खनालको बहिर्गमन पार्टीका लागि खेदजनक स्थिति भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमा आफूलगायत केन्द्रीय नेताहरुले यो स्थिति नआओस् भन्नका लागि बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेको मिश्रले लेखेका छन्। तर, केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा अघि बढ्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरेका छन्।

‘पार्टीका दुई महत्वपूर्ण नेता हामीबाट अलग्गिनुभयो। त्यो हाम्रा लागि अन्त्यन्तै खेदजनक स्थिति हो। तर, जे भए पनि हामीले हाम्रो यात्रा कायम राख्नुपर्ने हुन्छ। अझ दृढताको साथ अघि बढ्नुपर्ने हुन्छ,’ उनले लेखेका छन्।

साझा पार्टीले समान सोच भएका पार्टी, समुह र व्यक्तिहरुसँग एकीकरण र ध्रुविकरण गरेर तेस्रो ध्रुवको निर्माण गर्ने लक्ष्य लिएको मिश्रको भनाइ छ। 

‘पार्टी एकीकरण र पुनर्गठनबाट आर्जन हुने सम्भावित शक्तिको पहिलो परीक्षा आउँदो स्थानीय निर्वाचनमा हुनेछ जसमा काठमाडौं महानगरपालिका लगायत देशका विभिन्न स्थानका स्थानीय सरकारको नेतृत्व जित्ने हाम्रो उद्देश्य हुनेछ। स्थानीय चुनावको नतिजाको प्रत्यक्ष असर आउने संघीय चुनावमा पर्नेछ,’मिश्रले लेखेका छन्।

प्रकाशित मिति: : 2020-07-17 14:31:11

प्रतिकृया दिनुहोस्