पहिलो पल्ट साउनको पहिलो दिन पशुपतिको ढोका खुलेन (भिडियाेसहित)

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज बिहीबार साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ। 

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ। माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ। 

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको छ। 

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन्। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। 

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ। साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ। महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको छ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ। तर यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण पहिलाे पटक पशुपतिनाथकाे मन्दिर बन्द नै रह्याे। सरकारले धार्मिक स्थलमा २५ जनाभन्दा धेरै मानिसको भीड जम्मा नहुन गरेको निर्देशन दिएपछि अहिले याे स्थान सुनसान बनेकाे हाे।

यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ। तर श्रद्धालु भक्तजनलाई संसारसामु देखिएको कोरोना समस्या हल नहुँदासम्म वा सरकारले अर्काे निर्णय नगर्दासम्म धार्मिकस्थलमा जान पाउने भने छैनन्।
 

प्रकाशित मिति: : 2020-07-16 19:59:58

प्रतिकृया दिनुहोस्