नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक सय ४४ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमित १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिए।
गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो अहिलेसम्मकै बढी हो।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। निको हुनेहरु ६० दशमलव ७ प्रतिशत हुन्।
पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर परीक्षण भएको थियो।
हाल २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै ६ हजार ६ सय १३ जना आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा थप ९ जना संक्रमित
काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार संक्रमितहरु काठमाडौं तीन, ललितपुर पाँच र भक्तपुरका एक जना रहेका छन्।