महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत इन्सपेक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। नमुना परीक्षणका क्रममा शुक्रबार उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो।
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौं परिसरले जनाएको छ।
कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। कोरोना संक्रमित इन्सपेक्टर लकडाउन सुरु भएपछि काठमाडौं बाहिर गएर फर्केको ट्राभल हिस्ट्री छैन।
उनमा कोरोना देखिएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको बताइएको छ।