विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (काेभिड–१९) पूर्णरुपमा समाप्त पार्न असम्भव रहेकाे बताएकाे छ।
डब्ल्यूएचओका इमर्जेन्सी प्रोग्राम प्रमुख डा. माइक रायनले शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।
उनले भने, ‘अहिले जुन स्थिति देखिएको छ, त्यसलाई हेर्दा कोरोना भाइरसलाई निमिट्यान्न पार्न सकिन्छ जस्तो लाग्दैन।’
केही दिन अगाडि उनले विश्वमा कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोना भाइरसको संक्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वनका गर्न आग्रह गरेका थिए।
उनले विश्वमा कैयौँ राष्ट्रहरूले तथ्याङ्कले के भनिरहेको छ भन्ने कुरामा वेवास्था गरिरहेको बताउँदै महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्न नहुने बताएका थिए।
विश्व स्वास्थ्य संगठनका अनुसार वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ। २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल विश्वभर १ करोड २६ लाख १४ हजार ३२४ जना संक्रमित भएका छन्। त्यसमध्ये २ लाख ३४ हजार ६६३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन्।
यसैगरि पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार ९८७ पुगेको छ।
विश्वभर एकै दिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन्। निको भएका ७३ लाख २० हजार २२० संक्रमितमध्ये १ लाख ३४ हजार ६१८ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन्।
अमेरिकामा सबैभन्दा धेरै ३१ लाख ८१ हजार ८ सय ४६ जना संक्रमित छन्। कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा १८ लाख बढी संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।