बेसीसहर चामे सडकमा दर्जनौं पहिरो, सडक अवरुद्ध

हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर-चामे सडकको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहरदेखि चामेसम्म दर्जन बढी ठाउँमा पहिरो गएको छ । 

बाढीले बेंसीसहर नगरपालिका-७ पुमाखोलामा कल्भडसहित सडक बगाएको छ। बेंसीसहर-६ बेलौतीविसौना नजिकै उतिसघारी खरखरेमा झरेको पहिरोले सडक पुरिएको छ।

बुधबार साँझदेखि परेको वर्षाले बेंसीसहर -चामे सडकअन्तर्गत पर्ने खरखरे भीर, सिमपानी, खुदी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतका ठाउँमा पहिरो झरेको छ । कतिपय स्थानमा ग्याविन जालीसहति सडक भासिएको छ ।

ठूलो पहिरो खसेकाले सवारी आवागमन बन्द भएको छ। 

पहिरोमा बगेको पानीले थप समस्यामा पारेको छ । पहिरोका कारण मनाङ र उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकाका नागरिक समस्यामा परेका छन् । सदरमुकाम बेसीसहरबाट तीन किलोमिटरको दुरीमा रहेको उतिसघारी खरखरेमा हिउँद बर्खा दुवै समय पहिरो खस्ने गरेको स्थानीय बताउँछन् ।

पहिरोले घर पुरिए

बुधबार राति परेको वर्षाका कारण पहिरो चल्दा लमजुङका विभिन्न स्थानमा घर पुरिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेंसीसहर नगरपालिका-६ चनौटेस्थित भण्डारी टोलमा २ घर पहिरोले क्षति पुगेको छ । भण्डारी टोलका मिना आले र महेन्द्र भण्डारीको घर पहिरोले भत्काएको डिएसपी गंगाबहादुर थापाले बताए । 

घर भत्किए पनि आलेको परिवार छिमेकीको घरमा र थापाको परिवार आमा समूहको भवनमा बसेका छन्।

प्रकाशित मिति: : 2020-07-09 13:18:11

प्रतिकृया दिनुहोस्