तस्बिरमा सिन्धुपाल्चोकको बाढी: २ को मृत्यु २३ बढी बेपत्ता {अपडेट}

गएरातिको अविरल वर्षासँगै आएको बाढी र पहिरोले अरनिको राजमार्गको दुई बस्तीका १६ घर बगाएको छ। घरसँगै २ जनाको शव भेटिनुका साथै कम्तीमा २३ जना बेपत्ता भएका छन्।

बाह्रबिसे नगरपालिकाको जम्बू र भोटेकोशी गाउँपालिकाको बुकोटे बस्तीका घर खहरे खोलाले बगाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बिएल नेपाली सेवालाई जानकारी दिए।

ढकालका अनुसार जम्बु बजारका १४ घर बगेका छन्। त्यहाँ कम्तीमा १९ जना बेपत्ता भएका छन्। जसमध्ये दुई जनाको शव भेटिएको छ। 

बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाका अनुसार बाह्रबिसे नगरपालिका ५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेको हो।

बिहीवार गएराति १ बजेतिर उर्लिएको खहरे खोल्साले बस्ती बगाएको हो। सोही समयमा भोटेकोशीको बुलकुटे बस्तीका दुई घर समेत बगाएको छ।  त्यहाँ चार जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

पौडेलका अनुसार दुई बालबालिका घाइते छ्न्। उनीहरुलाई हेलिकप्टरुबाट उद्धार गरेर उपचारका लागि काठमाडौं लैजाने प्रयास भैरहेको छ।

बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ। अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इलाका प्रहरी चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल सबै खोलाले बगाएको छ। यस्तै बाह्रबीसे बजारछेउको ढिस्को खस्न थालेको छ।

उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुगेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2020-07-09 08:59:34

प्रतिकृया दिनुहोस्