सुदूरपश्चिममा प्रतिपक्षीको विरोधका बीच बजेट पारित हुँदै (भिडियो)

सुदूरपश्चिम प्रदेशसभामा बुधबार पनि प्रतिपक्षी दलको नाराबाजीका बीच छैठौँ अधिवेशनको २३ औँ बैठक सञ्चालन भएको छ।

सभामुख अर्जुनबहादुर थापाले २३ औँ बैठकको कारवाही अगाडि बढाउनासाथ प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्य रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए।

रोष्ट्रम घेराउ गर्दै नाराबाजी भइरहे पनि सभामुख थापाले आर्थिक बर्ष २०७७/०७८ को अर्थ सम्बन्धि व्यवस्थालाई कार्यान्वयन गर्न बनेको बिधेयक, सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र बिनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथिको कारवाही सुरु गरे।

उनले आर्थिक मामिला तथा योजना मन्त्री झपट वहादुर बोहरालाई दुबै विधेयकमाथि सभामा छलफल गर्न प्रस्ताव पेश गर्न अनुमती दिए। सभामुखको अनुमतीपछि मन्त्री बोहराले उक्त प्रस्ताव सभामा पेश गरे।

मन्त्री बोहराले प्रस्ताव पेश गर्दा समेत विपक्षीको नारावाजी जारी नै थियो। मन्त्री बोहराले प्रस्ताव पेश गरेपछि सभामुख थापाले जंगिदै भने, ‘मान्य सदस्यहरु तपाईहरुले आफ्ना कुरा राख्दा खेरी सभामुखलाई सम्बोधन गरेर गर्नुहोला। म यहाँहरुलाई जानकारी गराउन चाहन्छु की तपाईहरुले प्रस्तुत गर्दाखेरी सभामुखलाई सम्बोधन हुने गरी बोल्नुस।’ 

अघिल्लो बैठकमा सत्तापक्षका प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले विरोध गर्न पाउने कुरा जायज भए पनि सभामुखतर्फ पिठ्यूँ फर्काएर विरोध गर्न नपाइने भन्दै नियमापत्ति गरेका थिए।

यसअघि असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच आर्थिक वर्ष २०७७/०७८ को बजेट कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरिएको थियो।

प्रदेशमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गरिएकामा सरकारले यी मागको सुनुवाइ नगरेर बहुमतको दम्भ देखाउँदा समस्या देखिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बताए।

प्रतिपक्षीले राखेका माग सुनुवाइ गर्न पूर्ण प्रतिबद्धता नगरिएसम्म बैठकमा आफूहरुको विरोध जारी रहने उनले बताए। मागको सुनुवाइ गरी प्रदेशसभा बैठकलाई पुनः सञ्चालन गराउन सरकार र प्रतिपक्षी दलका सदस्यबीच पटकपटक वार्ता भए पनि आजसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन। ५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना सदस्य छन्।

प्रकाशित मिति: : 2020-07-08 12:59:12

प्रतिकृया दिनुहोस्