स्थानीयवासीको माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ: सांसद तामाङ

बिएल संवाददाता

सिन्धुपाल्चोक

सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने बताएका छन् ।

 मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा यही असार २१ गते पानी परीक्षण शुरु गरेपछि मन्त्रालयलगायत खानेपानी आयोजनाले सिन्धुवासीलाई बेवास्ता गरेको भन्दै यस क्षेत्रका नागरिकलगायत जनप्रतिनिधि, सरोकारवाला पक्षले मन्त्रालयको कामप्रति विरोध जनाएका हुन् । 

सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूलगायत प्रभावित क्षेत्रका जनप्रतिनिधि कसैलाई पनि यस विषयमा थाहा नदिनु दुःखद् भएको बताए । सिन्धुपाल्चोकमा यति ठूलो काम हुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानीसँग सम्बन्धित पदाधिकारीलाई सहभागी नगराई मन्त्रालयले जुन ढङ्गले पानी परीक्षण ग¥यो, त्यो दुःखद् भएको भन्दै सिन्धुवासी पनि सहभागी भएर गर्व महसुस गर्ने बेलामा एकलौटी ढङ्गबाट काम अगाडि बढाइनुले राम्रो सङ्केत नदिएको उनको भनाइ छ ।

तामाङले यही असार २६ गते प्रभावित क्षेत्रका सबै पक्षहरुसँग बसेर छलफल गर्ने र त्यही निर्णयअनुसार अगाडि बढ्नेसमेत जानकारी गराए । पानी परीक्षण गर्दा सिन्धुवासीलाई छल्न खाजेको भन्दै उनले सिन्धुवासीलाई यस क्षेत्रको विकास निर्माणलगायत रोयल्टी निर्धारण गरेर मात्र पानी जाने हुनाले सजग र सचेत हुँदै ढुक्क हुन आग्रह गरेका हुन् ।
 

प्रकाशित मिति: : 2020-07-08 12:12:22

प्रतिकृया दिनुहोस्