अमेरिकाद्वारा डब्लुएचओबाट बाहिरीने औपचारिक प्रक्रिया शुरु

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लएचओ)बाट बाहिरिने औपचारिक प्रक्रिया शुरु गरेको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई सोसम्बन्धी औपचारिक पत्र पठाएका छन्। प्रक्रिया पूरा हुन भने कम्तिमा १ बर्ष लाग्ने बीबीसीले उल्लेख गरेको छ। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टीफन डूजारिकले अमेरिकाले सन् २०२१ को जुलाई ६ देखि लागु हुने गरी आफू डब्लुएचओबाट बाहिरिने जानकारी गराएको पुष्टि गरेका छन्।

डब्लुएचओ चीनको छायाँमा रहेको र उसकै कठपुतली बनेको तथा कोरोना भाइरस फैलनबाट सुरुमा नै रोक्न असफल भएको ट्रम्पले आरोप लगाउँदै गत मेमै छोड्ने घोषणा गरेका थिए। 

अमेरिकाले डब्ल्यूएचओमा केके सुधार गर्ने भनेर विस्तृत रुपमा भनेको तर डब्ल्यूएचओले नमानेको आरोप ट्रम्पले लगाए।

हुन् त डब्लुएचओमा विस्तृत परिमार्जनको चाहना राखेका ट्रम्पले त्यसमा सिधै अमेरिकाको संलग्नता खोजेका थिए। तर डब्लुएचओले सो कुरा अस्वीकार गरेपछि रुष्ट बनेका ट्रम्प औपचारिक रुपमै अमेरिकालाई निकाल्ने चेष्टमा लागेका हुन्।

यसअघि युरोपेली युनियन ईयू लगायतले नछोड्न गरेको आग्रह अस्वीकार गर्दै ट्रम्पले राष्ट्रसंघीय नियोग छोडी त्यसलाई प्रदान गर्दै आएको सहयोग रकम अन्यत्रै खर्च गर्ने निर्णय गरेका छन्।

अमेरिका डब्लुएचओको सबैभन्दा ठूलो दातृ मुलुक हो। उसले बार्षिक ४० करोड डलर रकम सहयोग गर्दै आएको थियो जुन डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो। 

डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताएका छन्। अमेरिका बाहिरिँदा स्वास्थ्य क्षेत्रमा डब्लुएचओको काम प्रभावित हुने भन्दै चिन्ता व्यक्त भएको छ।

यता आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उठेका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले ट्रम्पको आलोचना गरेका छन्। उनले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपतिका रुपमा पहिलो दिनमै मैले अमेरिकालाई पुनः डब्लुएचओको सदस्य बनाउने छु र विश्व तहमा हाम्रो नेतृत्व पुनः स्थापित गर्ने छु।’

प्रकाशित मिति: : 2020-07-08 07:22:21

प्रतिकृया दिनुहोस्