डब्ल्यूएचओ बुझ्याे हावाबाट कोरोना फैलिनसक्ने प्रमाण

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हावाबाट पनि कोरोना भाइरस सार्ने दावी गरिएको प्रतिवेदन ग्रहण गरेको छ।

यसअघि विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दावी गरेका थिए।

उनीहरुले डब्ल्यूएचओलाई खुला पत्र लेखेर हालको दिशानिर्देश संशोधन गर्न सुझाव दिएका थिए।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा वैज्ञानिकहरुले  हाछ्युँ गरेपछि हावामा जाने जीवाणु एक कोठा बराबरको ठाउँसम्म फैलिन सक्ने र त्यसमा रहेको भाइरसले अन्य व्यक्तिलाई संक्रमण गर्ने दावी गरेका छन्। 

तर डब्ल्युएचओका डा. बेनेडेटाले पछिल्लो दुई महिना देखिनै हावाबाट कोरोना सार्ने बारेमा धेरै छलफल र अध्ययन भएको तर यसको ठोस प्रमाण फेला नपरेको बताएका थिए।       

यता डब्ल्यूएचओका कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित प्राविधिक प्रमुख मारिया वान केरखोवले उक्त कुरालाई नकार्दै कोरोना भाइरस हावाबाट फैलिएको आशंकाबारे आफूहरुले छलफल गरिरहेको जानकारी दिए।

डब्ल्युएचओले भने अहिलेसम्म एक संक्रमित र अर्को संक्रमितबीच २ मिटरभन्दा कमको दूरी कायम गरेर बस्दा कोरोना भाइरसको संक्रमण हुने बताउँदै आएको छ।

यस्तै संगठनले कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा कुराकानी गर्दा वा हाछ्युँ गर्दा, हात, मुख, आँखा र नाकमा हात लैजाँदा सार्ने बताउँदै आएको छ। यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ।

यता यसैगरी डब्ल्यूएचओका बेनेदेत्ता आल्लेग्रान्जीले हावाबाट कोरोना भाइरसको संक्रमण नफैलिने कुरालाई नकार्न नसक्ने बताए।

‘खासगरी भिडभाड भएको सार्वजनिक स्थानमा, हावा आवतजावत नगर्ने बन्द स्थानमा हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न सकिँदैन,’ उनले भने,‘हामी यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राख्छौं।’

प्रकाशित मिति: : 2020-07-08 07:01:44

प्रतिकृया दिनुहोस्