ब्राजिलका ‘अटेरी’ राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले आफूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन्।
उच्च ज्वरो देखिएपछि उनले सोमबार चौथो पटक कोरोना परीक्षण गराएका थिए।
मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको हाे। तर उनले यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताए।
उनी मास्क र सामाजिक दूरीको पक्षमा नभएको भन्दै आलोचना हुने गरेको छ। शनिबार मात्रै उनले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका थिए।
यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएका हुन्।
चर्च, पसललगायतका ठाउँमा जाँदा वा रहदाँ मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरुले जानकारी दिएका छन्। उनले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ, ‘व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जादा वा रहदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था हटाइएको छ।’
उनले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था संविधान विपरित भएको समेत उल्लेख गरेका छन्।
ब्राजिल कोरोना संक्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो। ब्राजिलमा कोरोना संक्रमणका कारण ६५ हजारभन्दा बढीको ज्यान गुमिसकेको छ।