बेइजिङले शहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः काेराेना भाइरस संक्रमित भेटिएपछि पहिलोपटक विगत २४ घण्टामा कुनै नयाँ संक्रमित नभेटिएको जनाएको छ।
बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर संक्रमित विरामीहरू भेटिने गरेको भएपनि पहिलो पटक विगत २४ घण्टामा कुनै कोरोना भाइरस संक्रमित विरामी नभेटिएको उल्लेख छ।
समग्रमा पछिल्लो संक्रमण श्रृङ्खलामा अहिलेसम्म ३३५ व्यक्ति सङक्रमित भेटिएकोमा १५ जना निको भै घर फर्किसकेका छन्। त्यस्तै ३२० जनाको उपचार भइरहेको र ३१ जनामा संक्रमणका कुनै लक्षण नदेखिएको तर उनीहरूलाई पनि अस्पतालको निगरानीमा राखिएको बताइएको छ।
चीनमा काेराेना भाइरस संक्रमण नियन्त्रणमा आइसकेको घोषणा भएको केही महिनापछि फेरि नयाँ विरामीहरू भेटिएका र तीमध्ये दर्जनौँ विरामीहरू सिनफादी बजारसँग कुनै न कुनै रूपमा जोडिएकाले उक्त बजार र वरपरका करिब उक दर्जन वस्तीमा लकडाउन गरी नियन्त्रण तथा रोकथाम प्रयासलाई सशक्त पारिएको थियो।
चीनले मङ्गलबार देशभरका विभिन्न छ प्रान्तका आठ व्यक्तिमा संक्रमण भेटिएको पुष्टि गरेको छ। यससँगै चीनमा पहिले र अहिले गरी कूल ८३ संक्रमितको सङ्ख्या हजार ५६५ पुगेको छ भने ७८ हजार ५२८ जना निको भई घर फर्किएका छन्। चीनमा मङ्गलबारसम्ममा चार हजार ६३४ जनाको मृत्यु भएको छ।