लागुऔषध प्रयोगकर्ता वार्षिक ५.६ प्रतिशतले बढ्दै, गृहमन्त्री भन्छन्– कोरोना जस्तै समाजमा फैलियाे

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागूऔषध प्रयोगकर्ताहरु कोरोना भाइरस संक्रमण जस्तै समाजमा फैलिएको बताएका छन्। 

मंगलबार नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण–२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै उनले भने,‘लागूऔषध लामो समयदेखि विस्तारै विश्वव्यापी रुपमा फैलिँदै गएको छ। अहिले यसका प्रयोगकर्ताहरु कोरोना संक्रमण जस्तै समाजमा फैलिएका छन्। ’ 

विशेषगरी युवा पंक्तिहरु लागू औषध दुर्व्यसनीको प्रभावमा परेको गृहमन्त्री थापाको भनाइ छ।

उनले कोरोना महामारीको को सामना गरिरहेको बेला लागूऔषधले मानिसको जीवनको अस्तित्वमा चुनौती समेत खडा गरेको गरेको उनले बताए। 

लागुऔषधका प्रयोगकर्ता वार्षिक ५.६ प्रतिशतले बढ्दै


गृहमन्त्री थापाका अनुसार ३९.७ प्रतिशत बेरोजगार व्यक्ति लागूऔषध सेवन प्रयोगकर्ता रहेका छन्। 

त्यस्तै व्यपारीहरु पनि लागूऔषध प्रयोगकर्ता रहेको उनले बताए। उनले भने, ‘हालको सर्वेक्षण अनुसार १५.६ प्रतिशत व्यापार बिजनेश गर्ने व्यक्ति लागूऔषध सेवनकर्ता छन्।’

कुल प्रयोगगकर्ता मध्ये ३९ दशमलव ७ प्रतिशत बेरोजगारी, १५ दशमलव ९ प्रतिशत व्यापार र १५ दशमलव ६ प्रतिशत दैनिक ज्यालादारी गर्ने व्यक्ति रहेका छन्।

यसैगरी नोकरी गर्ने, ११ दशमलव ७, अध्ययन ८ दशमलव ७, वैदेशिक रोजगारीमा रहेका ४ दशमलव १, कृषि क्षेत्रमा ३ र अन्य क्षेत्रमा कार्यरत शून्य दशमलव ६ प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेका छन्।

केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा गृहमन्त्रालयले गरेको अध्ययन अनुसार वि.स. २०६९ को तुलनामा ०७६ सालमा ५ दशमलव ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ।

२०६९मा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेकोमा २०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको छ।

२०६९ मा गरिएको अध्ययनको तुलनामा २०७६ मा गरिएको अध्ययनले २५ देखि २९ वर्ष उमेर समूहका व्यक्ति लागूऔषधको बढी प्रयोग गर्छन्।

साथीहरुको संगतले ६७ दशमलव ७ प्रतिशतले लागूऔषध प्रयोग गर्नेहरु रहेको अध्ययनले देखाएको छ। डुलन्ते विक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेको माध्यमबाट २ दशमलव ५ प्रतिशतले लागुऔषधि लिइरहेका छन्।

सबैभन्दा बढी ५१ दशमलव १ प्रतिशतले एकान्त ठाउँ र २० दशमलव ४ प्रतिशतले घरमै यसको प्रयोग गर्ने गरेका अध्ययनले देखाएको छ। झाडीमा १२ दशमलव ८, होटल तथा रेष्टुरेण्टमा २ प्रतिशत, पाटी पौवामा डेढ प्रतिशत, पुलमुनि ४ दशमलव ३ प्रतिशतले लागु औषध सेवन गर्नेहरु रहेका छन्।

साथीसँगीको दबाबका कारण लागू औषध प्रयोग गर्नेको संख्या बढी रहेको छ। ८९ दशमलव ४ प्रतिशतले साथीहरुको दबाबमा यसको प्रयोग गर्छन्। ७२ दशमलव १ प्रतिशले मनोरञ्जनका लागि, ६२ दशमलव ५ प्रतिशतले उत्सुकताका लागि ४५ ६ प्रतिशतले खुसी हुन ३० दशमलव ६ प्रतिशतले मानसिक तनावका कारण यसको सेवन गर्ने गरेका छन्।

यस्तै पारिवारिक समस्याका कारण १८ दशमलव ९, डिप्रेसनका कारण १४ दशमलव ९ र पढाइमा आउने समस्याका कारण ८ दशमलव ९ प्रतिशतले लागूऔषध सेवन गर्ने गरेको अध्ययनले देखाएको छ।

लागूऔषध सेवनकर्तामध्ये १५ प्रतिशतमा हेपाटाइटिसको समस्या देखिने गरेको छ। मानसिक विचलन ४ दशमलव १ प्रतिशत, क्षयरोग ४ प्रतिशत, एचआइभी/एड्स ३ दशमलव ५ प्रतिशत र २ दशमलव ५ प्रतिशतमा एस.टि.डीको समस्या देखिने गरेको छ।

४७ दशमलव २ प्रतिशत प्रयोगकर्ताहरुले आफ्ना जीवन सुधारका लागि रोजगारी वृद्धि गर्नुपर्ने अपेक्षा राखेका छन्।

३६ दशलमव ९ प्रतिशतले निशूल्क उपचार, २२ दशमलव ८ प्रतिशतले सीप विकास तालिमको व्यवस्था, २१ दशमलव १ प्रतिशतले सचेतना कार्यक्रम र १५ प्रतिशतले प्रभावकारी आपूर्ति नियन्त्रण गरे प्रयोगकर्ताहरुको जीवनमा सुधार ल्याउन सकिने अपेक्ष छ।

 

प्रकाशित मिति: : 2020-07-07 14:35:24

प्रतिकृया दिनुहोस्