किर्ते गरेको अभियोगमा दाङका २ वडासचिव पक्राउ

किर्ते गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका २ वडासचिव पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा घोराहीका १ का वडासचिव धनबहादुर केसी र वडा नं १३ का वडासचिव रनविन बुढा रहेका छन्।

दुवै वडासचिवले २०५९ सालको जन्म मिति भएकी एक किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए। सो प्रकरणमा लामो समय शिक्षण पेशामा सलग्न रहदै आएका हुकुम जिसी पनि पक्राउ परेका छन्। 

जबरजस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने किर्ते काममा ती २ वडा सचिवले सघाएको आरोप लगाएका छन्। 

हाल पूर्पक्षका लागि थुनामा रहेका जबरजस्ती करणी मुद्दाका अभियुक्तका आफन्तले केटीले उमेर किर्ते गरि घटाएको जानकारीका आधारमा दाङ देउखुरी जिल्ला अदालतमा उजुरी दिएका थिए।

त्यसपछि अदालतले घोराही उपमहानगरपालिकालाई उक्त विषयमा सत्य तथ्य जानकारी दिन पत्राचार गर्न भनेको थियो। अदालतको पत्रका आधारमा घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ सालमा जन्मेको प्रमाणित गरेपछि सचिवद्वय विरुद्ध किर्ते अभियोगमा मुद्दा परेको थियो। 
 

प्रकाशित मिति: : 2020-07-06 18:09:21

प्रतिकृया दिनुहोस्