सरकारले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएकाे छ
गृह गृहमन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको हो।
गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले जारी गरेको निर्देशन नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जानकारी दिए।
कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ।
जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएकाे जनाएका हुन्।
संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन।