खेत रोपाइँ गर्न गएका ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ। शनिबार खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो।
झडपका क्रममा प्रहरीले किसानका समूहलाई लक्षित गरी केही सेल अश्रुग्यास समेत हानेको छ। प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही प्रहरी घाइते भएका छन।
फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए। किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताएका छन्।
विकासका नाममा पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासी रुष्ट बनेका छन्।
किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि खोकना क्षत्रेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
द्रुतमार्ग अन्तरगत खोकना क्षेत्रमा लामो समयदेखि जग्गा विवाद कायम छ। गत असार १५ गते खेत रोपाइँमा गएका खोकनाका किसानलाई पनि प्रहरीले अवरोध गरेको थियो।
खेत जोत्न लगिएका ट्याक्टर नियन्त्रणमा लिएपछि स्थानीय किसानले प्रहरीविरूद्ध नाराबाजी गर्दै खेतमै प्रदर्शन गरेका थिए।