बझाङमा पहिरोमा ११ घर पुरिएका छन्। केबझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीको एक बस्तीमा पहिरो जाँदा ११ घर पुरिएको प्रारम्भिक अनुमान छ।
शुक्रबार राति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले मल्लेसका ११ घर बगाएको प्रारम्भिक खबर आएको बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले जानकारी दिए। उनले क्षतिको एकिन विवरण आउन नसकेको बताए।
राति घरमा सबै सुतेको वेला पहिरो आएकाले क्षति अलि बढी नै भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरी प्रमुख डिएसपी बमले घटनास्थलमा बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोलीलाई घटनास्थलमा पठाइएको जानकारी दिए।
उनले भने, ‘पहिरोले बाटो पनि बगाएको छ। खोलामा बाढी पनि आएको छ। त्यसैले हाम्रो टोली पहिरो गएको भनिएको स्थानसम्म पुग्न सकेको छैन।’
उनका अनुसार घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि रहेको छ। त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो। सो सडक पनि पहिरोले बगाएको छ।