मुलुकभित्र र बाहिर रहेका नेपालीले चन्दा उठाएपछि सुदूरपश्चिमको डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन जडान भएको छ।
नागरिक स्तरबाट चन्दा उठेको ९६ लाखको लागतमा डडेलधुरामा उक्त प्रयोगशाला मेसिन स्थापना भएको हो।
तीन साताअघि हृयुमनीटी फाउन्डेशनले कैलालीबाट सुरु गरेको अभियानमा देश विदेशमा रहेका नेपालीले सकेको सहयोग गरेका थिए। तीन हप्ताको छोटो अवधिमा डडेलधुरामा पीसीआर मेशिन स्थापना गर्न सफल भएको फाउन्डेशनका संस्थापक सदस्य अमरबहादुर शाहीले जानकारी दिए।
उनले यो मेसिन जडानपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सहजता हुने विश्वास लिए।
पीसीआर मेसिनको अभाव हुँदा यसअघि प्रदेशका सबै जिल्लाको स्वाब धनगढी पठाउने गरिएको थियो। धनगढीमा पनि चाप बढेपछि काठमाडौं पठाउने गरिएको थियो। काठमाडौँमा स्वाब धेरै भएपछि रिपोर्ट आउन समय लाग्ने गरेकोमा सुदूरपश्चिमका स्थानीय व्यवसायी, पत्रकार, खेलाडी र समाजसेवीको सक्रिय पहलमा मेसिन खरिद भएको शाहीले जानकारी दिए।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सहयोगि दातालाई फाउन्डेसनले धन्यवाद दिएको थियो।
कार्यक्रममा काठमाडौंबाट मात्रै ८ लाख १३ हजार ६ सय ६५ रूपैयाँ सहयोग संकलन भएको जानकारी गराइयो।
ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य शाहीको नेतृत्वमा काठमाण्डौंमा गरेको सहयोग संकलन अभियानको कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा साफ गेममा तेक्वान्दोमा नेपाललाई चार स्वर्ण पदक दिलाउने कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, युवा व्यवसायी राजु अवस्थीले अगुवाई गरेका थिए।
यसअघिनै फाउन्डेसनले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरिसकेको छ।
डडेलधुरामा स्थापना भएको कोरोना परीक्षण ल्याबले एक दिनमा ३ सय ८४ जनाको परीक्षण गर्ने क्षमता राख्छ भने एउटा सिफ्टमा ९६ जनाको नमूना परीक्षण हुने प्रयोगशाला प्रमुख ईश्वरी भुसालले जानकारी दिए।
यसैबीच डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र विष्टले ह्युमिनिटी फाउन्डेसनले हस्तान्तरण गर्ने पिसीआर मेसिन जडान गरी कोरोना परीक्षण सुरू भइसकेको जानकारी दिए।
उनले अहिले अस्पतालमा उपलब्ध जनशक्तिबाट प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन गरिने भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप जनशक्ति माग गरिएको बताए।