महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित ३ एआइजीलगायत उच्च प्रहरी अधिकारीले कार्यालयको नवनिर्मित ब्यारेक भवन उद्घाटन गरिरहेका बेला हिरासतमा रहेका सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएको अवस्थामा भेटिएका हुन्।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार २४ वर्षीय यादवले शारिरीक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा बलात्कार गरेका थिए। उनलाई असार १४ गते बलात्कारको मुद्दामा ग्वार्कोबाट पक्राउ गरिएकाे थियाे।
उनको कोरोना भाइरस परीक्षण भइनसकेकाले हिरासतको छुट्टै कोठामा आइसोलेसनमा राखिएको थियो। तर उनको पिसिआर रिपोर्ट आउन बाँकी थियो।
ट्वालेटमा छिरेर ननिस्किएपछि प्रहरी अधिकारीले उनलाई बोलाएका थिए। यद्यपि, नबोलेपछि गएर हेर्दा हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएरको अवस्थामा भेटिएका थिए। उनलाई तत्काल पाटन अस्पताल लगिएको थियो।
अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरे।