काठमाडौंको आकाशमा पनि देखियाे सलह

काठमाडौंको आकाशमा पनि सलह देखिएको छ। काठमाडौं महानगरपालिका १६ वनस्थली, उत्तरमा पर्ने नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको हाे।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ। 

काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भुहुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए। 

‘स्वयम्भुहुँदै उत्तरतर्फ गएको झुण्ड ठूलो थियो, त्यो नार्गाजुनको डाँडामा पुगेर एक समूह ललितपुरतर्फ फर्किएको र एक समूह जंगलमा बसेको वा नुवाकोटतर्फ गएकाे हुनसक्ने अनुमान छ’ उनले भने।

आइतबार दिउँसो ४ बजे सिन्धुली आइपुगेको सलहको समूह काभ्रेहुँदै सिन्धुपाल्चोकको सिपाघाट पुगेको थियो।

प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ किट विज्ञ रामकृष्ण सुवेदीले असार १३ गते बारामा देखिएको झुन्ड टुक्रिदै काठमाडौं प्रवेश गरेको बताए।

उनले भने, 'बाराबाट झुन्ड टुक्रिएर मकवानपुर पुग्यो। त्यहाँबाट पनि टुक्रिएर चितवन पुगेको छ र चितवनबाट उक्त झुन्ड टुक्रदै धापाखेल हुँदै उपत्यका प्रवेश गरेको हो ।' 

सलहका झुन्ड सानो भएकाले ती झुन्डहरुले अहिलेसम्म कतै क्षति नगरेको उनले बताए। उपत्यकामा देखिएका सलहरुलाई कागलगायत चराचुरुंगीहरुले आहारा पनि बनाएका छन्।

प्रकाशित मिति: : 2020-06-30 19:27:05

प्रतिकृया दिनुहोस्