प्रतिष्ठित व्यक्तित्वहरुले अन्तर्राष्ट्रिय समुदायका लागि निःशुल्क रुपमा कोभिड १९ खोप बनाउन आह्वान गरेका छन्।
१८ जना नोबेल पुरस्कार बिजेताहरुसहित विश्वका १०० भन्दा बढी व्यक्तित्वहरुले संयुक्त रुपमा जारी गरेको पत्रमा संसारभरका मानिसहरुको भलाई लागि निःशुल्क खोप उपलव्ध गराउन आग्रह गरिएको ढाकास्थित युनुस सेन्टरले जानकारी दिएको छ।
यो सेन्टर नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले स्थापित गरेको प्रतिष्ठित संस्था हो। सो आह्वान गर्नेहरुमा विश्वका थुप्रै देशका पूर्वराष्ट्रपति, राजनेता, प्रतिष्ठित कलाकार र अन्तर्राष्ट्रिय संघ संगठनहरु रहेका छन्।
उक्त सूचीमा डेसमन्ड टुटु, मलाला युसफजई, जर्ज क्लुन, थोमस बाक, मिखाइल गोर्बाचेभ, आन्र्डिया बोसेली जस्ता प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्।
आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘हामी सरकारहरु, समाजसेवी, सामाजिक व्यक्तित्व, व्यापारीहरुका अगाडि आएका छौं। विश्वव्यापी रुपमा यो खोप निःशुल्क रुपमा वितरण गर्न अपिल गर्छौं। हामी सबै सामाजिक, राजनीतिक र स्वास्थ्य उद्यमीहरुलाई विश्वभर रहेका कमजोर मानिसहरुलाई जोगाउन र उनीहरुमाथिको सामूहिक उत्तरदायित्वको लागि एकजुट हुन आह्वान गर्दछौं।’
कोभिड–१९ खोप बनाउनका लागि चीन, बेलायत, अमेरिका लगायतक मुलुकहरु लागिरहेका छन्। यो सालको अन्ततिर खोप बन्ने अपेक्षा गरिएको छ। कोरोनाभाइरसविरुद्ध यूकेमा विकास गरिएको एउटा नयाँ खोपको मानवमा परीक्षण सुरु गरिएको छ।
परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ कि भनेर हेर्न खोजिएको हो। परीक्षणका लागि आगामी साताहरूमा झन्डै ३०० मानिसलाई त्यो खोप लगाइनेछ।
इम्पीरीअल कलेज लन्डनमा सुरु गरिएको परीक्षणको नेतृत्व प्राध्यापक रोबिन शाटोक र उनका सहकर्मीहरूले गरेका छन्। जनावरहरूमा गरिएको परीक्षणले उक्त खोप सुरक्षित भएको र प्रतिरक्षा प्रणालीलाई सबल बनाउन प्रभावकारी देखिएको छ।
अक्स्फर्ड विश्वविद्यालयका विशेषज्ञहरूले पनि यसअघि नै यस्तै किसिमको खोपको मानव परीक्षण सुरु गरिसकेका छन्। अहिले विश्वभरि झन्डै १२० वटा खोप विकास कार्यक्रमहरू चलिरहेका छन्।