लघुकथा

निर्दोष मौरीहरू

मुक्ति गौतम

मणिपुर (भारत) 

वनफूलले ढकमक्क रानीवन। घाम, पानी, चिसो, तातो, हुरी, बताससँग लाप्पा खेल्दै हुर्केका थरीथरीका रंगीन फूलका डबकाहरू। चन्द्रमाले जुनेली रातमा सुटुक–सुटुक पठाएका डबका भरीभरी अक्षय चन्द्ररस।

गैरीवनमा सदियौंदेखि हिमाल झैं अटल भएर उभिएका विभिन्न जातका रुखका टोडकामा बनाएका महका घार। घुनुनु घनुनुको सारंगी बजाउँदै आएका मौरीका ताँतीहरू कोई आउँदै छन, कोई रस लिएर जाँदै छन। आफूले कडा परिश्रम गरेर बनाएको मौरीको चाकामा मुखमा चेपेर लगेको एक पित्को रस भरी रहेका छन्, निरन्तर। यसरी अनगन्ती मौरीहरूले लगातार १५ दिन लगाएर बनाएको घारका चाकामा भरी–भरि चन्द्ररस भरे। अब बसेर हाँसी खुसी गर्दै खाने सल्लाह गर्दै थियो।

अचानक अत्याधुनिक हातहतियारले लैस मान्छेहरू यो गैरीवनमा अनन्त कालदेखि धर्तीमा उभिएका यी हेमानका रुखहरू भकाभक ढाल्न थाले। बिचारा  मौरीहरू कताको मह कताको चाका आ-आफ्ना घार छाडेर भाग्न थाले। निर्दोष मौरीहरू बिचल्ली परे।

‘मनुवा चरित्र जाने न कोई, जंगल मासी साधु होई।’

प्रकाशित मिति: : 2022-01-08 15:10:00

प्रतिकृया दिनुहोस्