७७ जिल्लामै कोरोना फैलियो, संक्रमितको संख्या १२ हजार नाघ्‍यो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार नाघेको छ। शनिबार मात्र पाँच सय ५४ जनाको रिपोर्ट पोजिटिभ देखिएपछि संक्रमितकाे संख्या १२ हजार तीन सय ९ पुगेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष  गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। 

 संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन्। कुल १२ हजार तीन सय ९ जनामा संक्रमण पुष्टि भएको हो। 

नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ। यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो। शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

हालसम्म नेपालमा २८३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। उनीहरु मध्ये २४२ महिला र २५९२ पुरुष रहेका छन्।

गत चौबिस घण्टामा मात्रै १८ महिला र ११८ पुरुष गरी १३६ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। मृतकको संख्या भने २८ पुगेको छ। 

 

प्रकाशित मिति: : 2020-06-27 16:39:54

प्रतिकृया दिनुहोस्