कोरोना परीक्षण गर्न थप १० प्रयोगशाला सञ्चालन

कोरोना संक्रमण परीक्षणका लागि नेपालभर १० वटा प्रयोगशाला थप गरिएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको असार १० गते बसेको बैठकले सरकारी स्तरमा सञ्चालनमा रहेका थप १० वटा ल्याबमा कोरोना परीक्षण गर्ने ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो।

मन्त्रालयको निर्णयअनुसार झापाको मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पतालमा अब कोरोना परीक्षण ल्याब सञ्चालन हुनेछ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमका संयोजक डा. गुणराज लोहनीका अनुसार पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा पनि प्रयोगशाला सञ्चालन हुनेछ।

यसअघि नेपालभर सरकारी २३ वटा प्रयोगशालामा कोरोना परीक्षण भइरहेकामा अब थप १० वटाबाट पनि परीक्षण हुनेछ।

विगत २४ घण्टामा जनाको ६ हजार ५ सय ३४ पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

नेपालमा आरटी पीसीआर विधिबाट हालसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना संक्रमण परीक्षण भएको छ। शुक्रबार ६ हजार ५ सय ३४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको र तीमध्ये ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये २ हजार ६ सय ९८ जना निको भएका छन्। कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-06-26 17:28:23

प्रतिकृया दिनुहोस्