बेलायतमा कोरोना संक्रमण घट्दै, जर्मनीमा एकै दिन ७७० संक्रमित थपिए

बेलायती स्वास्थ्य अधिकारीहरुले बेलायतमा कोरोना संक्रमणमा व्यापक गिरावट आएको बताएका छन्। बेलायतमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको थियो।

बेलायतमा ४२ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु हुनुका साथै ३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले भाइरस फैलिनेक्रममा व्यापक सुधार हुनुमा आमजनताको प्रतिबद्ध सहयोग मुख्य रुपमा जिम्मेवार रहेको बताए।

यसअघि बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले श्रेणी ४ बाट ३ मा झार्न सिफारिस गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार श्रेणी ४ मा रहेको मुलुक भन्नाले कोरोना भाइरसको संक्रमण उच्च रहेको हुन्छ भने श्रेणी ३ ले महामारी सामान्य अवस्थामा पुगेको र नियन्त्रणमा ल्याउन सकिने अवस्थामा रहेको भन्ने जनाउँछ।

यसैबीच जर्मनीमा शुक्रबार एक महिनाको अवधिमा एकै दिन ठूलो संख्यामा कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेका छन्।

 शुक्रबार एकै दिन ७७० जना नयाँ संक्रमित व्यक्ति भेटिएकाे जर्मनीको रोग नियन्त्रण केन्द्र रोबर्ट कोच इन्स्टिच्यूटले जनाएकाे छ।

योसहित जर्मनीमा कूल संक्रमित व्यक्तिको संख्या एक लाख ८८ हजार ५३४ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-20 10:25:00

प्रतिकृया दिनुहोस्