मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकी बैजनाथ ६ की महिलाको अन्त्यष्टि गरिएको छ।
उनको बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाको मानखोला नजिकै जंगलमा खाल्डोमा गाडेर अन्त्यष्टि गरिएको हो।
बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीय महिलाको सोमबार उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो। नेपाली सेना, बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि र केही स्थानीयहरुको सहभागितामा उनको दाहसंस्कार गरिएको हो।
जंगलमा विशेष सुरक्षाका साथ शव व्यवस्थापन गरिएको नेपाली सेनाले गरेको छ। भैरब दल गणको नेपाली सेनाको टोलीले अस्पतालको शव गृहदेखि मानखोलासम्म सुरक्षित रुपमा पु¥याएको थियो।
गणपति कर्णेल नकुल थापाले सरकारको मापदण्ड अनुसार अन्तिम संस्कार गरिएको बताए। उनी बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुने दोस्रो संक्रमित हुन्। यस अघि बाँकेकै नरैनापुर ६ का एक युवकको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको थियो।
गाउँपालिका अध्यक्षको गाडिमा लगियो शव
उनको शव दुई दिन अघि अस्पातालको शव दाह गृहमा राखिएको थियो। शव लैजानको लागि कोही पनि एम्बुलेन्स तयार भएनन्। अन्य विकल्पको बारेमा समेत प्रयास भएको थियो। एम्बुलेन्स मात्रै नभएर अन्य गाडी र डोजरले समेत लिन मानेनन्।
अन्तिमको केही पनि उपाय नलागेपछि र शव बोक्न कोही पनि तयार नभएपछि गाउँपालिकाको अध्यक्षले प्रयोग गर्दै आएको गाडिमा संक्रमितको शव लगिएको हो। बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले आफैले चढ्ने गाडिमा लिएर व्यवस्थापन गरिएको बताए।
निमोनियाले ग्रसित ती महिलालाई जेष्ठ ३० गते आईसियूमा राखेर उपचार गराउँदा गराउँदै असार १ गते बेलुका करिब ४ बजे उनको मृत्यु भएको थियो। मृत्यु अघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको हिजो मङगलबार अबेर राती ८ बजेमात्र रिपोर्ट पोजेटिभ आएको हो।
रिर्पोट पोजेटिभ आएपछि मृतकको शव उठाउन अस्पताल प्रशासनले नमानेको अध्यक्ष रुचालले बताए।
फोटौ सौजन्य: यानबी साहु